इलामको निर्वाचन क्षेत्र नम्बर २ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा ६ जनाको उम्मेदवारी परेको छ।
प्राइमरी इलेक्सनमा मिलन लिम्बू, गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, डा. शेषरमण न्यौपानेको उम्मेदवारी परेको हो।
पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले प्रारम्भिक उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्।
यी नामउपर बिहीबार र शुक्रबार दाबी विरोधको सूचना दिन सकिनेछ। शनिबार अर्थात् चैत १५ गते उम्मेदवारका आकांक्षीसँग छलफल गरिने रास्वपाले जनाएको छ। शनिबार उम्मेदवारको अन्तिम नामावली निकालेर आइतबार मतदान हुनेछ। सम्बन्धित क्षेत्रका रास्वपाका पार्टी सदस्यले मतदान गर्ने रास्वपाले जनाएको छ।
तथापि, लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको तयारी रहेको एक नेताले बताए।
यसका लागि पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितका नेता शुक्रबार इलाम जाँदैछन्।
पत्रकारिता पृष्ठभूमिका लिम्बू माओवादी केन्द्रका कार्यकर्तासमेत थिए।
तर उनले माओवादी केन्द्रसँगको आबद्धता त्याग्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए।
त्यसपछि उनीसँग संवाद भएको र पार्टीले उम्मेदवार बनाउने तयारी गरेको रास्वपाका एक नेताले बताए।
रास्वपाले इलाम क्षेत्र नम्बर २ को अवस्था र पार्टीको स्थिति बुझ्न ६ जना सांसदलाई ६ पालिकामा पठाएको थियो।
रास्वपाका ६ जना सांसदहरू चैत १९ गते इलामका विभिन्न पालिका पुगेर अन्तर्क्रिरया गरेका थिए। सोबिता गौतम इलाम नगरपालिका पुगेकी थिइन्। गणेश पराजुली देउमाई नगरपालिका पुगेका थिए भने मनिष झा माई नगरपालिका पुगेर अन्तरक्रिया गरेका थिए।
यस्तै, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका पुगेका थिए।
सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्वाचन कमान्डरका रूपमा इलाममै खटिएका छन्।