नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सांसदहरूले अध्यक्षकाे निर्देशन नमान्ने संकेत गरेका छन्।
अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार लिखित रूपमा सुदूरपश्चिम सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन्। तर केन्द्रीय संस्थापक सदस्यले भने संयुक्त विज्ञप्ति निकालेर उक्त निर्णय नमान्ने बताएका हुन्।
सुदूरपश्चिममा उन्मुक्तिका सातमध्ये ५ जना सांसद अहिले कांग्रेस नेतृत्वको सरकारमा मन्त्री छन्। अधिकांश सांसद सरकारमा रहेकाले बहुमत सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छ। अध्यक्ष श्रेष्ठले भने केन्द्रमा बनेको गठबन्धनलाई समर्थन गरेजस्तै प्रदेशमा पनि गर्नुपर्ने भन्दै आएकी छन्। संरक्षक रेशम चाैधरीले अध्यक्ष श्रेष्ठको कुरामा असहमति जनाएका छन्।
चाैधरी पार्टीको आन्तरिक विवादकैबीचमा जापान गएका थिए। उनी अहिले पनि उतै छन्। याे बीचमा पार्टीको केन्द्रीय कमिटीको बैठक टीकापुरमा बसेकाे थियाे। नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय संस्थापक सदस्य तथा प्रदेश सरकारका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरी, संस्थापक सदस्य लक्ष्मण बहादुर चौधरी र पार्टीको प्रवक्तासमेत रहेका केन्द्रीय संस्थापक सदस्य दामोदर पडितले साे बैठकको निर्णय नमान्ने बताएका हुन्।
पार्टी अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन लिखित निर्देशन दिएपछि उनीहरूले शुक्रबार नै विज्ञप्ति निकालेका थिए।
अध्यक्ष श्रेष्ठले दिएको निर्देशनबारे छलफल गर्ने प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको भनाइ छ। उनले संरक्षक जापान भ्रमणबाट फर्केपछि एक चरणमा पुनः छलफल गरेर निष्कर्ष निकाल्ने बताए।
पार्टी अध्यक्षले लिखित रूपमै निर्देशन दिए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन अहिलेसम्म कायमै रहेको उनले बताए।