युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै अहिले सुधार गरिरहेको बताएका छन्।
शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले खेलको बारेमा जानकारी नभएको व्यक्तिलाई विभिन्न निकायहरुमा नियुक्ति भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाएको बताएका हुन्।
उनले खेलाडीहरुलाई पछाडि पार्ने र नियुक्ति गरिएका व्यक्तिलाई बढी पारिश्रमिक दिनेगरी अघि बढिरहेको अवस्थालाई रोकेर आफूले अहिले खेलाडीहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
‘मन्त्रालय राजनीतिक भर्ती केन्द्र जस्तो थियो, खेलको बारेमा थाहै नभएको मान्छे खेलमा जाने, अनि खेलाडीहरु जहिले पनि पछाडि पर्ने, खेलाडीहरुको पारिश्रमीक एकदम कम, तर नियुक्ति भएकाहरुको पारिश्रमिक धेरै, त्यस्ता खालका विकृतिहरु हटाउन काम गर्दैछौँ, कति कारबाही पनि अघि बढाएका छौं,’ उनले भने।
उनले सरकारी जग्गाहरु हडपेर निजी स्वार्थका लागि आर्थिक उपर्जन गर्ने काममा लागेको पाइएको पनि बताए। त्यस्ता विभिन्न विकृतिहरूलाई सुधार गर्न आफू लागिरहेको मन्त्री श्रेष्ठले बताए।