प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको सुशासनको रटान केबल झुटको पुलिन्दा भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले एसपी बढुवामा सरकारको सुशासन रटानको धज्जी उँडेको बताएका हुन्।
सरकारले एसपी बढुवा गर्दा पहिलो नम्बरमा रहेका डिएसपीलाई नै पाखा लगाएको थियो।
‘हालै १२ जना डिएसपीहरूबाट ८ जना एसपीको बढुवा हुँदा वरिष्ठतम १ र ६ लाई पाखा पार्दै सत्ता गठबन्धन सिन्डिकेटको नियोजित अन्यायबाट सरकारको सुशासनको रटानको धज्जी उँडेको छ,’ उनले भने।
सांसद केसीले सरकारको भनाई र गराईमा ठूलो आशंका रहेको पनि बताए।
सुन प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्षलाई छोडेकोप्रति पनि केसीले असन्तुष्टि पोखे।
‘राज्यको विधा पालना र दण्ड व्यवस्थापनमा करूणा र क्षमाको बहानामा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, व्याप्त भ्रष्टाचार र विधिविहीनतालाई करूणाको जामामा चोख्खिने र चोख्याउँदै जाने हालको गतिविधिले भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ती र सुशासनको केबल झुटको पुलिन्दा हुँदैछ,’ उनले भने।
केसीले एनसेल र सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।
यो पनिः विवादमा पर्यो एसपी बढुवा सिफारिस