नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय पदाधिकारी नियुक्तिको मापदण्डबारे संसदमा जानकारी गराइनुपर्ने बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्रिवि पदाधिकारी नियुक्ति प्रक्रिया कसरी भएको सार्वजनिक गरिनुपर्ने बताए।
‘त्रिविको पदाधिकारी नियुक्ति प्रक्रिया कसरी भएको हो?, संसदलाई सार्वजनिक रूपमा जानकारी दिइयोस्,’ उनले भने, ‘मापदण्ड र आधार के हो? त्रिविमा बेथिती भइरहेको छ, अन्त्य गर्न सरकारको योजना के हो?’
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी राख्न खोजेकोमा पनि त्यसबारे सदनलाई जानकारी गराइनुपर्ने बताए।
‘कर्मचारीलाई पन्छाएर नयाँ नियुक्ति गरेर नयाँ जिम्मेवारी दिने कोसिस भइरहेको छ भनेर बाहिर आइरहेको छ। यसबारे संसदलाई जानकारी गराइनुपर्छ,’ उनले भने।