ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राखेका जिज्ञासाको जवाफ दिँदै उनले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको बताए। उनले विशेष प्राथमिकता स्वदेशी निजी क्षेत्रलाई दिइएको बताए।
उनले नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भूमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराए।
‘हामीले यो संवैधानिक मार्गदर्शन भित्र रहेर नै सरकाले काम गरिराखेको छ। यसमा निजी क्षेत्र, सामुदायिक क्षेत्र र सरकारको पनि भूमिका छ,’ उनले भने, ‘स्वदेशी, विदेशी दुबै निजी क्षेत्रको सहभागिता छ। र सरकारले स्वदेशी निजी क्षेत्रलाई फेरि विशेष प्राथमिकतामा राखेर व्यवहार गर्ने गरिराखेको छ। यो कुरा म राख्न चाहन्छु।’
मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गरे।
-न्युज एजेन्सी नेपाल