नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले धादिङवेशी-सांकोष-तिप्लिङ सडक निर्माणमा ढिलाइ भएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले क्रान्ति नायक दामन पाख्रिनको नामबाट राखिएको उक्त राजमार्ग निर्माण कार्य सुरु भएको ३० वर्ष भए पनि अहिलेसम्म पूरा नभएको बताए।
उनले तत्कालीन जिल्ला विकास समितिले कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत २०५० सालमा निर्माण कार्य सुरू भएको पनि बताए।
‘सय किमी सडक निर्माणको काम ३० वर्ष हुँदा पनि पूरा भएको छैन,’ उनले भने, ‘सडक नहुँदा स्थानीयलाई सदरमुकाम आउन तीन/चार दिन हिँड्नुपर्छ।’
उनले सडकखण्डमा ८ वटा खोलामाथि पुल बनाउनुपर्ने पनि बताए। उनले यो सडक निर्माणमा संघीय र प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगरेको पनि बताए।