कर्णाली प्रदेश सभाको मंगलबारको बैठक स्थगित भएको छ।
नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्यसूची थियो।
मंगलबार अपराह्न ३ बजेका लागि तोकिएको बैठक साँझ ५ बजे स्थगित भएको हो। एमाले र माओवादीबीच छलफल भए पनि सहमतिमा नपुगेपछि प्रदेश सभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो।
प्रदेश सभा सचिव जीवराज बुढाथोकीले तोकिएको समयभन्दा ढिला भएकाले स्थगित गर्नुपरेको बताए। ‘हाम्रो नियमावलीमा निर्धारित समय भन्दा ढिलो भए स्थगन गर्न पाउने व्यवस्था छ। त्यसअनुसार स्थगित गरिएको हो,’ उनले भने।
बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको थियो। तर माओवादीले मुख्यमन्त्री छाड्न मानेको छैन।
मुख्यमन्त्री छाड्न नमानेसँगै संसदीय दल र माओवादीका केन्द्रीय नेताहरूबीच छलफल भइरहेको छ। उक्त बैठकमा दलहरूले निष्कर्ष ननिकालेपछि विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको हो।
एमालेको प्रदेश संसदीय दलले संघको सहमतिअनुसार आफूले नेतृत्व पाउनुपर्ने अडान राखेको छ।
माओवादीभित्र आन्तरिक छलफलका लागि केन्द्रबाट २ जना नेता कर्णाली पुगेका छन्। पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेता कालीबहादुर मल्ललाई छलफल गर्न अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पठाएका हुन्।