उम्मेदवार छान्न बसेको नेपाली कांग्रेसको बैठक बिनानिष्कर्ष सकिएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार करिब ४ घन्टा छलफल भएको थियो।
प्रवक्ता प्रकाशशरण महतले बुधबार अपराह्न ४ बजे बैठक बसेर उम्मेदवार छनोट गरिने बताए।
इलाम- २ र बझाङ- १ को प्रदेश सभा १ मा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते मनोनयन दर्ता गर्ने तालिका छ।
कांग्रेसबाट इलामका लागि ७ जना र बझाङका लागि १० आकांक्षीको नाम सिफारिस भएको छ।
इलाममा जिल्ला सभापति डम्बरबहादुर खड्का र भेषराज आचार्य मुख्य दाबेदार छन्। खड्का सभापति देउवानिकट र आचार्य शेखर कोइरालानिकट मानिन्छन्।
दुवै पक्षले आफ्नो पक्षका आकांक्षी बलियो रहेको दाबीसहित टिकटमा लबिङ गरिरहेका छन्। संसदीय बोर्ड बैठकमा नेताहरूबीच सहमति नहुँदा केन्द्रीय कार्यसम्पादन समिति बैठक निर्धारित समयमा बस्न सकेको थिएन।
प्रवक्ता महतका अनुसार सहकारी प्रकरण छानबिन गर्न संसदीय छानबिन समिति गठन हुनुपर्ने पक्षमा कांग्रेस छ। गृहमन्त्री रवि लामिछाने बुधबार रोस्ट्रममा बोल्ने भए कांग्रेसले विरोध गर्ने उनको भनाइ छ।