राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि यही चैत २८ गते निर्वाचन हुने भएको छ।
उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १५ गते पदबाट राजीनामा दिएकी थिइन्। उनी नेकपा (माओवादी केन्द्र) की सांसद हुन्।
माओवादी केन्द्रकै सांसद नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए। सत्ता गठबन्धनभित्र राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष सत्ता गठबन्धनकै अन्य दललाई दिने सहमति भएको थियो।
सुरूमा नेकपा (एमाले) ले उपाध्यक्ष आफूहरूलाई दिनुपर्ने अडान राखेको थियो। तर एकीकृत समाजवादी पनि सरकारमा गएपछि उसले पनि उपाध्यक्ष आफूहरूलाई दिनुपर्ने अडान राखिरहेको छ।
राष्ट्रिय सभा अध्यक्ष दाहालले उपाध्यक्ष पदका लागि चैत २८ गते बुधबार निर्वाचन हुने बताएका हुन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदका लागि निर्वाचन तोकेको जानकारी गराएका हुन्।
संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशनसमेत उनले दिएका छन्।