सत्तारुढ नेकपा (एमाले) का सांसद योगेश भट्टराईले माथिल्लो ओहोदामा रहेका कर्मचारीलाई अवकाशपछि विदेशी कम्पनीमा काम गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन्।
देशको गोपनियता बाहिर जाने भएकाले पनि माथिल्लो तहमा पुगेका कर्मचारीलाई विदेशी कम्पनीमा काम गर्न निषेध हुने कानूनी व्यवस्था गर्न आवश्यक रहेको उनले बताए।
बुधवार प्रतिनिधि सभा बैठकमा संघीय निजामती सेवा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै भट्टराईले दलीय आग्रहभन्दा माथि उठेर सो विधेयकको धेरै विषयमा छलफल गरेर अघि बढनुपर्ने आवश्यकता औंल्याए।
‘यो विधेयकमा कुनै राजनीतिक दलको आग्रहभन्दा माथि उठेर नेपालको स्थायी सरकारको रुपमा रहेको निजामती प्रशासनलाई कसरी व्यवस्थित बनाउने, कसरी यसलाई पारदर्शी बनाउने, कसरी यसलाई जवाफदेही बनाउने र गुणात्मक क्षमतायोग्य बनाउने? यी विषयमा केन्द्रित भएर यो विधेयकमाथि छलफल होस्,’ उनले भने, ‘माथिल्लो तहको कुनै पनि कर्मचारीलाई अवकाश पछि विदेशी कम्पनीमा काम गर्न निषेध गर्नुपर्छ। त्यसले गोपनियता भंग गर्ने डर हुन्छ।’