नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम-२ र बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका छन्।
निवास बूढानीलकण्ठमा बुधबार बसेको संसदीय बोर्ड बैठकमा सभापति देउवाले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्।
इलाम कांग्रेस सभापति खड्का देउवानिकट हुन्। उनलाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्काको पनि समर्थन छ। तर महामन्त्री गगन थापा लगायतले इलाम २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।
इलाम-२ का लागि ७ जनाको नाम सिफारिस भएकोले उनीहरूसहित बिहीबार बिहान ९ बजे बैठक बस्ने तयारी छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उम्मेदवार सिफारिस भएका सबैसँग छलफल गरेर सहमतिमै बिहीबार उम्मेदवार चयन गरिने बताए।
बझाङ प्रदेश सभाका लागि देउवाले सिंहको नाम प्रस्ताव गरे पनि यो नाममा अरूले सहमति जनाएका छैनन्।
वडाध्यक्ष हारेकोले उनलाई उम्मेदवार दिन नहुने नेताहरूको मत छ। महामन्त्री थापा लगायतले बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।
बझाङबाट १० जनाको नाम सिफारिस भएको थियो। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।