वाइडबडी विमान खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरूद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सहायक प्रवक्ता यज्ञाराज रेग्मीले जानकारी दिए।
उनकाअनुसार एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रकम बिगो माग गरी मुद्दा दायर गरिएको छ।
यस मुद्दामा तत्कालीन पर्यटनमन्त्री शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकार, तत्कालीन भन्सार विभाग महानिर्देशक शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने र पर्यटन सचिव शंकर अधिकारीविरूद्ध मुद्दा दायर भएको छ। अधिकारी नेपाल वायुसेवा निगमका तत्कालीन संचालक समिति अध्यक्ष समेत थिए।
उक्त समितिका सदस्यहरू टेकनाथ आचार्य, निमा नुरू शेर्पा र मुक्तिराम पाण्डेविरूद्ध पनि मुद्दा दायर भएको हो।
त्यस्तै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका तत्काली महानिर्देशक एवं समिति सदस्य जीवनप्रकाश सिटौला र समिति सदस्य भई अच्युतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाँई, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक जनकराज कालाखेती र उपनिर्देशक प्रभासकुमार कर्माचार्यविरूद्ध पनि दर्ता भएको छ।
त्यसैगरी निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन नि.निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालविरूद्ध पनि मुद्दा छ।
तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक बृहतमान तुलाधरविरूद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
यस भ्रष्टाचार मुद्दामा विमान आपूर्तिकर्ताविरूद्ध पनि मुद्दा छ।
प्रेसिडेन्ट इन्टरनेशनल सप्लाइ चेन, एएआर कोर्प. इन्क युएसए एवं बेलायती नागरिक दीपक शर्मा, हाइफ्लाइ एक्स आइरल्यान्ड लिमिटेडका डाइरेक्टर एवं जर्मन एभिएसन क्यापिटल जर्मनी/सिंगापुरका प्रतिनिधि जर्मन नागरिक क्रिस्टियन नुइह्लिन र त्यस कम्पनीका फाइनान्स डाइरेक्टर एवं रोमानीया एन्ड माल्डोभाका नागरिक ओलेग कालिस्ट्रुविरूद्ध पनि मुद्दा दायर भएको हो।
एएआर इन्टरनेशनल इन्क र उक्त कम्पनीका मुख्य व्यक्ति जोन एम होल्मस, जर्मन एभिएसन क्यापिटल र उक्त कम्पनीका मुख्य व्यक्ति एना टोपा, हाइफ्लाइ ट्रान्सपोर्टी एरियोस पोर्चुगल र उक्त कम्पनीका मुख्य व्यक्ति पाउलो मिरपुरि, हाइफ्लाइ र उक्त कम्पनीका मुख्य व्यक्ति जेराल्ड थोर्नटन, नोर्टन रोज फुलब्राइट एलएलपी जर्मनी र उक्त कम्पनीका हेड अफ अभिएसन मार्कस राडब्रच र सिनियर कन्सल्ट्यान्टको हकमा पनि मुद्दा दायर भएको छ।
उनीहरूविरूद्ध एक करोड ३३ लाख ८८ हजार १०९ डलर बराबरको बिगो मागदाबी गरिएको छ।
२०७३ सालमा करिब २४ अर्ब रूपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाइएको थियो। निगमले दुईवटा वाइडबडी विमान भित्र्याएलगत्तै खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै विरोध हुन थालेको थियो।
संसदको सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो।
यो पनि: वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य