अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्यले देशमा भइरहेको भ्रष्टाचारले मुलुक खोक्रो बन्दै गएको बताएकी छन्।
जनताको सेवा गर्न भनेर खटिएका जनप्रतिनिधि र राष्ट्रसेवकहरू नै भ्रष्टाचारमा लिप्त हुँदा मुलुक खोक्रो बन्दै गएको उनले बताइन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रियामा बोल्दै आयुक्त अमात्यले भ्रष्टाचारले अहिलेको पुस्ता मात्र नभई आउने पुस्ताको जीवनलाई समेत समस्यामा पार्ने बताइन्।
मुलुकमा भ्रष्टाचार बढेकै कारण नयाँ पुस्तामा देश छोडेर विदेशिने लहर आएको उनले बताइन्।
‘अहिलेको पुस्तालाई नेपालमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै छैन, न त जनताको सेवा गर्न भनेर चुनाव जितेका जनप्रतिनिधि जनताको सेवक बन्न सक्यौं, न त राष्ट्रसेवक भनिएका कर्मचारी नै राष्ट्रसेवी बन्न सक्यौं, नयाँ पुस्तामा जनप्रतिनिधि र राष्ट्रसेवक सबै भ्रष्टाचारी हुन् भन्ने छाप बनेको छ, यस्तो छापलाई मेटाउन तपाईं हामी नै लाग्नुपर्छ,’ उनले भनिन्।
आयुक्त अमात्यले भ्रष्टाचारकै कारण देशमा विकास निर्माणका कामह अलपत्र अवस्थामा रहेको भन्दै विभिन्न समयमा आयोगले दिएका सुझाव कार्यान्वयन गर्न सके धेरै भ्रष्टाचार न्यूनीकरण गर्न सकिने बताइन्।
‘आयोगले विभिन्न समयमा १८ बुँदे, २२ बुँदे, ४६ बुँदे लगायतका सुझाव दिएको छ, तिनै सुझाव कार्यान्वयन गरेमात्र धेरै भ्रष्टाचार न्यूनीकरण हुन्छ,’ उनले भनिन्।
आयुक्त अमात्यले जनताको घरआँगनको सरकार भनिएका स्थानीय तहहरू सबभन्दा धेरै भ्रष्टाचारको अखडा बन्दै गएको बताइन्।
‘अधिकांश स्थानीय तहहरूमा डिटेल योजनाबिना राजनीतिक आस्था र पूर्वाग्रहले हचुवाको भरमा बजेट विनियोजन हुने गरेको छ, बजेट बनाउँदा अबण्डामा एकमुष्ट बजेट राख्ने र आर्थिक वर्षको मध्यतिर आफू अनुकूलका व्यक्ति र संस्थाहरूलाई बजेट दिने प्रचलन स्थानीय तहमा व्यापक छ, यसलाई तत्काल रोक्नुस्,’ उनले भनिन्।
उनले आयोगले भ्रष्टाचार नियन्त्रणका लागि सचेतना जगाउने, सुझाव दिने, हुन लागेको छ भने रोक्ने र यति गर्दा पनि रोकिएन भने कारबाही गर्ने बताइन्।
‘भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग वाचडग मात्र होइन बाइटडग पनि बन्नुपर्छ,’ उनले भनिन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव ईश्वरी प्रसाद अर्यालले पछिल्लो समय अनुदान वितरण, राजस्व चुहावट, कर्मचारी नियुक्ति, सार्वजनिक खरिद तथा निर्माण, क्षमता विकासका नाममा हुने अनावश्यक तालिम, स्रोत साधनको दुरूपयोग जस्ता विषयमा धेरै भ्रष्टाचार हुने गरेको बताए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले कार्यालयका कार्यक्षेत्रभित्र रहेका ९ वटा जिल्लामा चालु आर्थिक वर्षमा एक हजार ६ सय ६० भ्रष्टाचारका उजुरी परेको जानकारी दिए। परेका उजुरीमध्ये ९०७ वटा फछर्यौट भएका छन् भने ७५३ वटा फछर्यौट हुन बाँकी छन्।
आयोगको बुटवल कार्यालयको कार्यक्षेत्रभित्र रहेको रूपन्देहीका सबभन्दा बढी ५२० वटा उजुरी परेका छन्। त्यस्तै, कपिलवस्तुका ३८४, पश्चिम नवलपरासीका १६६, गुल्मीका १५०, पाल्पाका १३३, पूर्वी नवलपरासीका ११२, अर्घाखाँचीका ८६, दाङका ५६ र प्यूठानका ४६ वटा उजुरी दर्ता भएका छन्।
कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले स्थानीय तहहरू भ्रष्टाचारको अखडा बनेको भास्य निर्माण हुँदा काम गर्न हतोत्साहित हुने गरेको बताए।