लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामाको घोषणा गरेका छन्।
बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन्।
नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार अल्पमतमा थियो।
उनले बिहीबारको बैठकबाट विश्वास मत लिने तयारी गरे पनि बहुमत पुग्ने नदेखिएपछि पदबाट राजीनामाको घोषणा गरेका हुन्। उनले आफू ११ महिना मुख्यमन्त्री रहेको बताए।
‘मैले प्रदेश सभामा राजीनामाको घोषणा गरेको छु,’ उनले भने। उनले मुख्यमन्त्री परिवर्तन हुनु ठूलो कुरा नभएको पनि बताएका थिए। ‘हामी प्रजातन्त्रवादी हौं, मुख्यमन्त्री परिवर्तन हुनु ठूलो कुरा होइन। हामी यो व्यवस्था बचाउन सक्छौं कि सक्दैनौं?,’ उनले भने।
उनले छोटो समयमा सरकार परिवर्तन हुनु राम्रो नभएको पनि बताए।
यो पनि: लुम्बिनीका चार दलले गरे महरालाई मुख्यमन्त्री बनाउनेसहित पाँच बुँदे सहमति