नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको संसदीय दल र केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। खड्का इलाम कांग्रेस सभापति हुन्।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार वैशाख १५ मा इलाम २ मा हुने उपनिर्वाचनका लागि खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको हो।
साथै कांग्रेसले बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको विश्वकर्माको भनाइ छ। इलाम २ बाट उम्मेदवारका लागि ७ जना र बझाङबाट १० जनाको नाम सिफारिस भएको थियो।
चार दिनसम्म छलफल गर्दा पनि सभापति देउवा आफूनिकटका खड्का र सिंहलाई नै उम्मेदवार बनाउनुपर्नेमा अडिग देखिएका थिए।
नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतले इलाम २ मा पहिलो नम्बरमा सिफारिस भएका भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने बताए पनि सभापति देउवा मानेनन्।
खड्का २०७९ को चुनावमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए।
अभिषेक पृथ्वीबहादुर सिंहका छोरा हुन्। पृथ्वीबहादुरले २०७९ मंसिरमा भएको प्रदेश सभा चुनाव जितेका थिए। सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन कानून मन्त्रीसमेत रहेका सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परेर निधन भएको थियो।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।
यो पनि: टसमस भएनन् देउवा, इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने