नेकपा माओवादी केन्द्रले इलाम-२ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि इलाममा माओवादी केन्द्र एमालेलाई सघाउन तयार भएको हो।
शुक्रबार माओवादी केन्द्र इलाम जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा सुहाङ नेम्बाङलाई मतदान गर्न अनुरोध गरिएको छ।
उक्त अपिलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएको बताइएको छ।
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
-1712372854.jpg)
माओवादी केन्द्रले यसअघि इलाम-२ मा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो। बालुवाटारमा चैत १४ गते बसेको पदाधिकारी बैठकबाट इलाम र बझाङमा माओवादीले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको थियो।
त्यसपछि जिल्लाबाट चार जना उम्मेदवारको नाम सिफारिस समेत भएको थियो।
जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङ नाम सिफारिस गरेको थियो।
तर पार्टीको निर्देशन भएपछि माओवादी केन्द्रले सुहाङलाई नै समर्थन गर्ने भन्ने निर्णय भएको माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्क नेम्बाङले बताए।
यसले कार्यकर्तामा असन्तुष्टि र निराशा पैदा गरेको उनले बताए।
‘आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाउने भएपछि उम्मेदवारका आकांक्षी र कार्यकर्ता निराश छन्। यसले पार्टीलाई थप क्षति गर्छ,’ अध्यक्ष नेम्बाङले भने।