वैशाख १५ गते इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन्।
लिम्बूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी तथा बिपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन्।
इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याल लगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै र्यालीसहित मनोनयन दर्ता गराउन गएका हुन्।
लिम्बूको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह–संयोजक सन्तोष श्रेष्ठ तथा समर्थकमा तेजकुमार श्रेष्ठ छन्।
उम्मेदवारी दिएलगत्तै पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा लिम्बूले आफ्नो उम्मेदवारी आफ्नो मात्रै नभएर नागरिकको उम्मेदवारी भएको बताए।
‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने।
पूर्व संविधान सभा अध्यक्ष तथा एमालेका वरिष्ठ नेता सुबास नेम्वाङको अप्रत्यासित निधनपछि इलाम– २ मा उपनिर्वाचन हुन लागेको हो।