प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक नागरिकको जीवन रुपान्तरणका आध्यात्मिक क्रान्ति गर्ने समय आएको बताएका छन्।
लुम्बिनीमा संचालित विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालीलाई पूर्ण रुपान्तरणको बाटोमा लगेर सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन कल्याणकारी, वैज्ञानिक आध्यात्मिक क्रान्तिको खाँचो रहेको बताएका हुन्।
‘नागरिकलाई सबल, शान्तिप्रेमी र ऊर्जाशील बनाउन मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसूस गरेको छु, म यो भूमीबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले यस्तो रुपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रुपमा नभएर दीगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी, वैज्ञानिक आध्यात्मिक राज्यको खाँचो रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले आफ्नो जिवन सम्राट अशोकसँग मिल्ने भन्दै अब आफू सम्राट अशोक बन्ने समय आएको बताए।
‘मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रुपान्तरणबाट नेपाल र नेपालीको हित गर्न सकिने बताए।
‘अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको समग्र विकास गर्न सकिन्छ,’ प्रचण्डले भनेर
प्रधानमन्त्री प्रचण्डले बाहिरी रुपमा व्यक्तिले जतिसुकै प्रगति गरेपनि आध्यात्मिक जागरण र साधना बीना भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए।
‘जबसम्म व्यक्तिले आफूभित्रका ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न सक्दैन, उनले भने।
प्रधानमन्त्री प्रचण्डले आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहनका लागि हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले देशको अन्तराष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदाय माझ नेपाल शान्तिपूणर् विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिनका लागि सबैको सामूहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको बताए।
उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वलाई नेपाल योगभूमि र तपोभूमि भएको सन्देश दिँदै योग तथा आध्यात्मिक पर्यटन मार्फत नेपालको विकास गर्न सकिने बताए।
प्रधानमन्त्री प्रचण्डले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाएर युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्ने बताए।
‘राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकता जस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनुछ,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रधानमन्त्री प्रचण्डले नेपालमा केहि गर्न चाहनेहरुका लागि प्रयाप्त अवसर रहेको दावी गर्दै यसको लागि नवीनता र सकारात्मकता ल्याउन जरुरी भएको बताए।
‘गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर युवा जनशक्तिलाई देशको विकासमा लगाउनु छ, सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालले लिनुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।