विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।
पार्टीका प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति निकालेर छानबिन समिति गठन गर्न माग गरेका हुन्।
‘मन्त्रीहरुदेखि राजकीय पदमा आसिन वर्तमान तथा पूर्वपदाधिकारीहरु समेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा हजारौं सर्वसाधारणको अर्बौं रकम अपचलन हुँदा पनि सरकार मौन रहेकोप्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
सहकारी ठगी प्रकरणमा संलग्नहरुलाई छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न र पीडितलाई राहत तथा परिपूरणको व्यवस्था गर्न विवेकशील साझाले सरकारसँग माग गरेको छ।
‘मन्त्रीहरु, पूर्वमन्त्रीहरु, विभिन्न दलका नेताहरुको मिलेमतो र सेटिङमा सर्वसाधारणको अर्बौं रकम अपचलन हुनु र पीडितको विल्लिबाँठ हुँदा पनि सरकारले प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही नगर्नु जनमतको अवहेलना र पीडितप्रति अचाक्ली ज्यादती भएको विवेकशील साझा पार्टीको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ।
सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरुले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानबिनलाई नै 'स्याबोटेज' गरिरहेको भन्ने सरोकारवाला र सहकारी पिडीतहरुको भनाइलाई वेवास्ता नगर्न विवेकशील साझाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।