नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा सोमबार बिहान ९ बजेदेखि पदाधिकारी बैठक सुरू भएको हो।
बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरू सहभागी छन्।
मंगलबारदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न डाकिएको बैठकमा पूर्वपदाधिकारीहरू पनि सहभागी छन्।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जोडिएको भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ।
पछिल्लो समय मन्त्री लामिछानेले विधेयक पेस गर्न नपाउने सर्तमा कांग्रेसले संसदमा अवरोध रोकेको थियो। कांग्रेसले सरकारलाई छानबिन समिति लिएर आउन चैत २१ गतेसम्मको 'अल्टिमेटम' दिएको थियो। महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठकमा बोल्दै आगामी बैठकमा सरकारले संसदीय समिति लिएर आउनुपर्ने बताएका थिए।
तर सो अवधिसम्म पनि सरकारले संसदीय छानबिन समिति नबनाएपछि मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बूढानिलकण्ठमा पदाधिकारी बैठक बसेको एक पदाधिकारीले जानकारी दिए।