कोशी प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न माग गरेका छन्।
विराटनगरमा एमाले र माओवादी संसदीय दलले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गर्न माग गरेका हुन्।
एमाले सचेतक रेवतीरमण भण्डारीले सरकार गठनका लागि प्रदेश प्रमुखलाई दबाब नभई अनुरोध गरेको बताए।
‘कोशी प्रदेशमा एमाले र माओवादीको माग १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान होस्। यो हाम्रो प्रदेश प्रमुखलाई आग्रह हो दबाब होइन,’ उनले भने।
१५ दिनभित्र विशेष अधिवेशन बोलाउनुपर्ने संसदीय अभ्यास भएको बताउँदै त्यतिबेला आफूहरूले संकल्प प्रस्ताव लैजाने पनि उनले बताए।
त्यसअघि नै मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिन्छन् भन्नेमा आफूहरू आशावादी रहेको पनि उनले बताए।
‘प्रदेश प्रमुखले १५ दिनभित्र विशेष अधिवेशन बोलाउनुपर्छ, बोलाउनुहुन्छ। त्यसबेला हामी सदनमा संकल्प प्रस्ताव लिएर जान्छौं,’ प्रमुख सचेतक भण्डारीले भने, ‘त्यो प्रस्ताव कति कडा भाषाको हुन्छ भन्ने अब मुख्यमन्त्रीले कस्तो भाषा, व्यवहार देखाउनुहुन्छ भन्नेमा निर्भर हुन्छ। त्यो संकल्प प्रस्ताव अघि नै उहाँले राजीनामा दिनुहुन्छ भन्ने लाग्छ। नभए बहुमत विपक्षमा हुने भएपछि उहाँले विश्वासको मत लिनुपर्छ।’
त्यतिबेला सम्मका लागि मुख्यमन्त्री कार्कीले कर्मचारी सरूवा गर्ने, नयाँ कार्यक्रम स्वीकृत गर्ने काम अघि नसार्न पनि उनले अनुरोध गरे।