नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीमा लाखौं बचतकर्ता ठगिएकाले न्याय दिलाउन लाग्नुपर्ने बताएका छन्।
नयाँ बानेश्वरमा मंगलबार बसेको संसदीय दल बैठकमा सभापति देउवाले सहकारीमा बचत गरेको पैसा फिर्ता नपाएको बचतकर्ताहरूको गुनासा सुनिएको बताएका हुन्।
‘देशका विभिन्न सहकारीमा लाखौं बचतकर्ताले गरेको बचत ठगी गरेको अवस्था छ, उनीहरूलाई न्याय दिलाउन हामी लाग्नुपर्छ,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘गृहमन्त्री रवि लामिछानेविरूद्ध पनि धेरै प्रमाण छन्, यसबारे संसदीय छानबिन समिति बनाउनैपर्छ।’
उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राखिरहेको छ।
संसदीय दल बैठकले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति आवश्यकता रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए।
लाखौं सहकारी पीडितप्रति सरकार गैरजिम्मेवार रूपमा प्रस्तुत भइरहेको लेखकको भनाइ थियो।