राष्ट्रिय युवा परिषदले नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२४ सुरू गरेको छ।
उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार उक्त कार्यक्रम सुरूवात गरेका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठले नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय कुटनीति र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पुग्ने वताए।
‘यस अभ्यासले आउने दिनमा सबल र सफल कुटनीतिज्ञ जन्माउने विश्वास लिएको छु,’ श्रेष्ठले भने। यो अभ्यास चार दिनसम्म चल्नेछ।
मन्त्री श्रेष्ठले युवाहरूलाई उद्यमशिलता, आत्मनिर्भरता र स्वरोजगारको दिशामा अघि वढाउन सरकार प्रयत्नशील रहेको वताए।
‘हाम्रो संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेण्टी गरेको छ। त्यसलाई कार्यान्वयन गर्नका लागि सरकार मेहेनतपूर्वक लागिरहेको छ,’ उनले भने।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई राष्ट्रसंघीय अभ्यास, दिगो विकास लक्ष्य, अन्तराष्ट्रिय कुटनीतिक आयामहरु , साझा अन्तर्राष्ट्रिय सवाल, जलवायू परिवर्तन, मानव अधिकार , सुरक्षा परिषद लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले कार्यक्रम गरिएको बताए।
संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय कार्यालयका तर्फबाट युएनडिपीका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले युवाले राष्ट्रसंघीय अभ्यास वुझ्नु अत्यन्तै आवश्यक रहेको वताइन्।
देशभरबाट अनलाइन प्रतिस्पर्धाका आधारमा छनौट भएका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय सहभागीले कार्यक्रममा भाग लिएका छन्।