सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा आगलागी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार गरेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको हो।
यस घटनाको छानबिन गर्नका लागि गृहले समितिलाई १० दिनको समय दिएको छ।
यसबीच आगलागीबाट क्षति भएको विवरण, आगलागीको कारण, भण्डारमा आगलागी तथा अन्य विपदजन्य जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा घटना दोहोरिन नदिन गर्नुपर्ने सुधार लगायतका विषयमा केन्द्रित हुन कार्यादेश दिइएको छ।
सोमबार अपराह्न ४:५० बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ बलम्बुमा रहेको केन्द्रीय भण्डारणमा आगलागी भएको थियो। उक्त आगलागी मध्यराति नियन्त्रणमा आएको थियो। उक्त भण्डारणमा टेन्ट, लत्ताकपडा लगायत जिन्सी सामानहरू राखिएका थिए।
त्यसबारे छानबिन गर्न सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय आन्तरिक समिति गठन गरिएको थियो। त्यसैबीच गृहले अर्को समिति बनाएको हो।
