आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा सांसद साहले प्रधानमन्त्री बन्ने क्रममा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताएपनि सो अनुसार काम हुन नसकेको बताएका हुन्।
'प्रधानमन्त्री बनिराख्दा सम्माननीय प्रधानमन्त्रीजीले त्यतिखेर भन्नुभएको थियो–संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक जस्ता महत्वपूर्ण विधेयक उच्च प्राथमिकता छन्। र छिट्टै पारित हुन्छ भन्नुहुन्थ्यो। ती विधेयकहरु कहाँ छन?,' उनले भने।
सांसद साहले आफूहरू जनतामा जाँदा ती विधेयकहरूबारे जबाफसमेत नभएको बताए।
'केही दिन पछि यो विधेयक अधिवेशनको अन्त्य हुन्छ। र हामी जनतामा जान्छौं। आफ्नो निर्वाचन क्षेत्रमा जान्छौं,' उनले भने, 'जनताको माझमा हामीले के भन्ने ? संसदको यो अवधिमा हामीले के गर्यौं? के काम गर्यौं भनेर सुनाउने?'
उनले सरकारले ल्याएको १९ विधेयक र सांसदहरुले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावले पनि महत्व नपाएको बताए।
'विशेष प्रस्तावले पनि महत्व पाएन। विधेयकको कुरै छोडिदिउँ, सरकारले भनेको उच्च प्राथमिकताका विधेयकहरु कहाँ छन् ? हामी जान्न चाहन्छौं,' उनले भने।