प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ मेहनतका साथ खटिन आह्वान गरेका छन्।
नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्ड नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन हार्दिक आह्वान गरेका हुन्।
‘नयाँ वर्षको सुरूवातसँगै सम्पूर्ण नेपालीहरूमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धी, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याहरूको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्राप्त सफलता विसं २०८० का हाम्रा आशालाग्दा राष्ट्रिय उपलब्धी भएको पनि बताएका छन्।
त्यस्तै सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं. २०८१ का मूल जिम्मेवारी रहेको उनले बताए।
‘यी प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको पनि बताए।
‘यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धी र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्।