उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं चलायमान सहर बनोस् भनेर त्यसको सुरूआत ठमेल र दरबारमार्गबाट गरिएको बताएका छन्।
नयाँ वर्षको अवसर पारेर एक कार्यक्रम आयोजना गरी उनले ती क्षेत्र चौबीसै घन्टा खुला राख्ने घोषणा गरेका हुन्।
‘यो ऐतिहासिक सुरूआत हो, यसले सकारात्मक सन्देश दिन्छ। काठमाडौं चलायमान सहर बनोस् भनेर त्यसको सुरूआत दुई ठाउँबाट गरिएको हो। यहाँको अनुभवका आधारमा अन्य ठाउँ पनि खुला गर्नेछौं,’ कार्यक्रममा बोल्दै उनले भने।
यो अभियान सफल बनाउन उनले सबैलाई आग्रह गरे। यहाँका विकृति-विसंगति अन्त्यका लागि सामूहिक प्रयासको खाँचोसमेत रहेको बताए।
‘यहाँका व्यवसायी, कर्मचारी, पर्यटन सबैलाई सुरक्षाको पूर्ण प्रत्याभूति गरिन्छ। तर, सफल बनाउन हामी सबैको दायित्व छ। त्यसमा ध्यान दिऊँ,’ उनले भने।
संसारभर परिचित ठमेलको पहिचान थप स्थापित गर्न पनि सरकारले उक्त अभियान सुरू गरेको समेत उनले बताए।
‘जब छोरी-चेली र आमाहरू निर्बाध यहाँ आउने वातावरण बनाउन सकिन्छ तब मात्र यो अभियान सफल हुन्छ,’ उनले भने।
स्थानीयका जायज चासो सम्बोधन गर्ने उनले बताए। नयाँ दल हुनुको परिचय कामबाटै दिने भन्दै उनले जतिसक्दो राम्रो काम गर्ने दाबी गरे।
‘हामी राम्रो कति गर्न सक्छौं थाहा छैन, नराम्रो चाहिँ एउटा पनि गर्ने छैनौं,’ उनले भने, ‘आमाको निन्द्रा र छोराको सपना दुवै पूरा गर्नेछौं।’