इसराइलस्थित नेपाली दूतावासले नेपालीहरूलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।
शनिबार राति इरानले इसरायलमाथि ३०० भन्दा बढी घातक ड्रोन र मिसाइलहरू आक्रमण गरेको छ।
उक्त आक्रमण भएसँगै इसराइलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले सूचना जारी गर्दै अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको हो।
दूतावासले सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन पनि अनुरोध गरेको छ।
इसराइली होम फ्रन्ट कमाण्डले पनि सर्वसाधरणका लागि नयाँ निर्देशनहरू जारी गरेको छ। सोमबार राति ११ बजेसम्म लागु हुनेगरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र सभा/भेला नगर्न निर्देशन जारी गरिएको छ।
नेपालीहरू सुरक्षित रहनका लागि दूतावासले स्थानीय सुरक्षा प्रोटोकलहरू पालना गर्न अनुरोध गरेको हो।
‘आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं,’ जारी सूचनामा भनिएको छ।
त्यस्तै आवश्यक परे सम्पर्क गर्न दूतावासले दुई वटा सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ।
द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० नम्बरमा र सहचारी संजयकुमार साहलाई ०५४५५८२०७७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
एक महिनाअघि सिरियास्थित इरानी दूतावासमा आक्रमण हुँदा त्यहाँ इरानी कुड्स फोर्सका वरिष्ठ कमाण्डरसहित ७ जना सैन्य अधिकारीसहित १३ जना मारिएका थिए।
उक्त आक्रमणको जिम्मा इसराइलले नलिएको भएपनि त्यसका पछाडि उसकै हात रहेको दाबी गर्दै इरानले त्यसको कडा जवाफ दिने भनेको थियो।
इरानले इसराइलमा आक्रमण गर्ने भनेपछि संयुक्त राज्य अमेरिकाले इसराइललाई आफ्नो पूर्ण समर्थन हुने र उसलाई जोगाउन आफू ढाल भएर उभिने प्रतिबद्धता व्यक्त गर्दै इरानलाई चेतावनी दिएको थियो। त्यसका बाबजुद पनि इरानले शनिबार राति इसराइलमा आक्रमण गरेको हो।
आक्रमणबाट सैनिक आधारशिविरमा सामान्य क्षति भएको आइडिएफले जनाएको छ। त्यस्तै ७ वर्षीया बालिका गम्भीर घाइते भएकी छन्। टाउको चोट लागेपछि उनलाई अस्पताल लगिएको छ।
अन्य ३१ जना मानिसहरू पनि सामान्य घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणपछि सम्पूर्ण इसराइलमा तनावको स्थिति बनेको छ। जेरूसलेममा लगातार साइरन बजिरहेको र मिसाइलहरू इसराइली आाकाशमा देखिएको बिबिसीले उल्लेख गरेको छ।
यसबीच इसराइलले इरानबाट प्रहार भएको ३ सयभन्दा बढी ड्रोन र मिसाइल हमला निस्तेज पारेको बताएको छ।