सत्तारूढ नेकपा (एमाले) संसदीय दलको बैठक सोमबार बस्दैछ।
संघीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
संसद्को हिउँदे अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य भएको छ।
सामान्यतः अधिवेशन आरम्भ हुँदा र अन्त्य हुँदा संसदीय दलको बैठक बस्ने हुँदा आजको बैठक पनि नियमित भएको प्रमुख सचेतक बर्तौलाले बताए।
‘अधिवेशन अन्त्य भएकाले कानुन निर्माणको पाटोमा पनि ध्यान दिनुपर्नेछ।
विषयगत समितिमा रहेका विधेयकहरूमाथिको छलफल प्रभावकारी बनाउने, दलका तर्फबाट खेल्नुपर्ने भूमिकाका विषयमा दलका नेताले निर्देशन दिनुहुनेछ,’ उनले भने, ‘यसका अतिरिक्त संसद् बैठक नभएका बेला जनताको काममा पनि जोडिनुपर्ने हुन्छ।’
यस्तै आजको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले जानकारी दिए।