सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताघटक नेकपा (एकीकृत समाजवादी) को कदमप्रति असन्तुष्टि जनाएका छन्।
सुदूरपश्चिम प्रदेशमा आइतबार नेपाली कांग्रेससहित एकीकृत समाजवादीले समर्थन गर्दै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
त्यसतर्फ लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सोमबार एकीकृत समाजवादीको दक्षिणपन्थी चरित्र नाङ्गो ढंगले प्रकट भएको टिप्पणी गरेका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दल बैठकमा बोल्दै ओलीले एकीकृत समाजवादीले वर्तमान सत्ता समीकरणलाई कमजोर बनाउने गरी प्रस्तुत भएको टिप्पणी गरेका छन्।
‘अराजनीतिक प्रवृत्ति बहुतै हाबी भएको छ, हिजोमात्रै एस भन्ने पार्टी छ एउटा...। कांग्रेससँग नजिक भएर त्यसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरण कमजोर बनाउने, यस समीकरणलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सक्ने, अथवा निःशुल्क सेवा पनि उन्मुक्तिको पनि गर्न सक्नेतिर कदम चाल्यो।’
अध्यक्ष ओलीले विपक्षीहरूमा आशा आउने गरी, जनतामा आशंका, अन्यौलता, निराशा केही मात्रामा भए पनि पैदा हुने गरी एकीकृत समाजवादीले कदम चालेको आरोप लगाए।
‘सही दिशामा राजनीतिक फर्किंदै थियो। विपक्षीहरूमा आशा आउने गरी, जनतामा आशंका, अन्यौलता, निराशा केही मात्रामा भए पनि पैदा हुने गरी, त्यस पार्टीले कदम चाल्यो। त्यसका बोली, व्यवहार, बार्गेनिङ, आन्तरिक रूपमा छँदै थिए। तर हिजो बाहिर नै प्रकट भयो। त्यस समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन नगर्ने, कांग्रेस केन्द्रित गठबन्धनबाट समर्थन गर्ने, एकीकृत पार्टीको दक्षिणपन्थी, अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो,’ उनले भने।
आइतबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको छुट्टाछुट्टै दाबी परेको थियो।
लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए। उनी उन्मुक्तिका संरक्षक रेशम चौधरीनिकट हुन्।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठनिकट कैलाश चौधरीले एमाले, माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए।
यो पनि: माधव नेपाल भन्छन्: लुम्बिनी, मधेस र बागमतीमा पनि खतराको घन्टी बज्यो