राप्रपाले प्रदर्शनमा घाइते भई मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ।
सोमबार शोक वक्तब्य जारी गर्दै पार्टीका प्रवक्ता मोहन श्रेष्ठले आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिई मृत्यु भएका डाँगीलाई सहिद घोषणा गर्न माग गरेका हुन्।
'संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको प्रशासनिक दमन निन्दनीय छ। नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास हो। स्व. ठाकुर प्रसाद डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न राप्रपा सरकारसंग माग गर्दछ,' शोक वक्तब्यमा भनिएको छ।
गत चैत २७ गते काठमाडौंमा राप्रपाले गरेको प्रदर्शनमा अश्रुग्यास लागेपछि ६५ वर्षीय डाँगीलाई श्वासप्रश्वासमा समस्या देखिएएको थियो। उनको आज उपचारको क्रममा मृत्यु भएको थियो। डाँगी राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष थिए।
सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो।
निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। उक्त प्रदर्शनमा ३० जनाभन्दा बढी मानिस घाइते भएको राप्रपाले बताएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी दीपक थापाले राप्रपाको चैत २७ को आन्दोलनमा राप्रपा र प्रहरीतर्फ गरी कूल १८ जना घाइते भएको विवरण रहेको बताएका थिए।
‘घाइतेहरूलाई ट्रमा सेन्टर पठाइएकोमा चैत २७ र २८ गते सबै डिस्चार्ज भएको विवरण प्रहरीमा छ,’ उनले भनेका थिए, ‘मृत्यु भएका डाँगीको विवरण प्रहरीको रेकर्डमा छ वा छैन हामी खोज्छौं।’
प्रहरीले प्रहार गरेको अश्रुग्यासकै कारण मानिसको मृत्यु नहुने दाबीसमेत उनले गरेका थिए।