नेपाली कांग्रेस, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश सभा बैठक बहिस्कार गरेका छन्।
सभामुख रामचन्द्र मण्डलले संसदीय र लोकतान्त्रिक अभ्यास विपरीत सदन चलाएको भन्दै तीन पार्टीका सांसदहरू बैठक बहिस्कार गरेर हिँडेका हुन्।
तीनै पार्टीका सांसदहरू हिँडे पनि प्रदेश सभा बैठक जारी छ। बैठकमा सत्ता पक्षका सांसदहरू सहभागी छन्।
जनमतको अवरोधपछि मुख्यमन्त्रीले विश्वासको मत लिन तेस्रो पटक बैठक चलिरहेको छ। विश्वासको मत लिने प्रक्रिया जारी छ।
तेस्रो पटक बैठक सुरू हुनासाथ जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले टेबल ढकढकाउँदै आफ्नो कुरा राख्ने प्रयास गरेपछि सभामुखले उनलाई रोकेका थिए। यादव नरोकिएपछि सभामुख मण्डलले मर्यादापालकलाई उनीहरूलाई सदनबाट बाहिर निकाल्न निर्देशन दिए। लगत्तै जनमतका सांसदहरू बाहिरिए।
सभामुखले विश्वासको मत लिने प्रक्रियामा छलफलका लागि कुनै पनि दलबाट सांसदको नाम नआएको भनेपछि कांग्रेस र लोसपाका सांसदहरूले असन्तुष्टि जनाए।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूसँग छलफलका लागि सांसदको नामै नमागेको बताएर प्रतिपक्षीलाई बोल्न नदिएर संसदीय मर्यादा विपरीत सदन चलेको भन्दै उनले कांग्रेसले बैठक बहिस्कार गर्ने भनेर निस्किए।
लोसपाका सांसद उपेन्द्र महतो समेत छलफलमा भाग लिन पार्टीबाट सांसदको नाम नमागेको र सभामुखले संसदीय अभ्यास विपरीत सदन चलाएको भन्दै असन्तुष्टि जनाएर हिँडेका हुन्।