नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले दुई वटा निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीको महाधिवेशन र सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गरेको हो।
पार्टीका प्रवक्ता रहेका उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार बैठकले महाधिवेशनको मिति सारेको छ।
यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्मका लागि तय भएको एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आगामी असारदेखि गर्ने गरी सार्ने निर्णय गरेको उपमहासचिव खतिवडाले जानकारी दिए।
महाधिवेशनका लागि तयारी नपुगेको र तल्लो कमिटीबाट पनि सार्नुपर्ने सुझाव आएकाले महाधिवेशन सार्ने निर्णय भएको उपमहासचिव खतिवडाले जानकारी दिए।
'धेरै आन्तरिक तयारीहरूका कारणले, जिल्ला कमिटीहरूले माग गरेबमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहराए अनुसार दशौं राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेका छौं,' उनले भने।
उनका अनुसार एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुनेछ।
आजकै बैठकले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा पार्टीको तर्फबाट दीर्घ सोडारीलाई अघि सार्ने निर्णय पनि भएको उपमहासचिव खतिवडाले बताए।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने निर्णयबाट पछि हटेर सत्ता गठबन्धन एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने निर्णयमा फर्किएको थियो।
त्यसमा पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई अघि सार्ने निर्णय गरिएको उपमहासचिव खतिवडाले बताए।
सोडारी एकीकृत समाजवादीका सुदूरपश्चिम संसदीय दल नेता हुन्। त्यहाँ एकीकृत समाजवादीका ४ सांसद छन्।
मुख्यमन्त्री बन्ने भएपछि सोडारीले लक्ष्मण किशोरलाई मुख्यमन्त्री बन्नका लागि दिएको समर्थन मंगलबार फिर्ता लिएका थिए।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका दुई सांसदहरू लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्री दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीमा प्रक्रिया नपुगेको भन्दै पुनः दाबी पेस गर्न भोलिसम्मको समय दिएका छन्।