सुदूरपश्चिम सरकारमा मुख्यमन्त्रीसहित दुई सदस्यीय मन्त्रिमण्डल गठन भएको छ।
सरकारलाई समर्थन गर्ने दलहरूलाई मन्त्रालय दिने विषयमा छलफल गरेर ठूलाे आकारमा छिट्टै नै मन्त्रिमण्डल विस्तार गर्ने नवनियुक्त मुख्यमन्त्री दीर्घ साेडारीकाे तयारी छ।
सोडारीले बिहीबार राति मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेका हुन्। नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथनमा साेडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
सरकारमा नेकपा एमाले भने तत्काल सहभागी नहुने भएको छ।
बिहीबार साँझ बसेकाे सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले अर्को निर्णय नभएसम्मका लागि प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।
अहिलेलाई सरकारको समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेकाे पनि उनले बताए।
नेकपा माओवादीले भने सरकारमा जाने विषयमा कुनै निर्णय गरेकाे छैन। माओवादी र एमालेले प्रदेश सरकारमा दुई/दुई मन्त्रालय पाउने जनाइएको छ।
बिहीबारै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद कैलाश चाैधरी भाैतिक पूर्वाधार मन्त्री बनेका छन्। सुरूमा बिना विभागीय मन्त्री बनाएको भन्दै उनी मुख्यमन्त्रीको शपथ कार्यक्रमबाट बाहिरिएका थिए।
नाउपाकै अर्का सांसद टीका थापालाई पनि मन्त्री बनाउने तयारी छ। उनलाई पनि बिहीबारै मन्त्रीकाे शपथ गराउने तयारी थियो। तर उनले पनि बिना विभागीय मन्त्री ताेकिएकाे शपथ लिन मानिन्।
नेकपा एमाले, माओवादी, नेकपा एकीकृत समाजवादीका सासंदले एक घन्टा छलफल गरेर सहमति गरेपछि कैलाश चाैधरीले भने बिहीबार राति नै शपथ लिएका हुन्।
सरकार बनाउन समर्थन गरेका स्वतन्त्र सासंद तारा जाेशीलाई पनि मन्त्री बनाउने चर्चा छ।