गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि संसद बैठक बोलाएका हुन्।
सरकारले संसद बैठक बोलाए पनि अहिलेसम्म कुनै ‘विजनेश’ नदिएको सभामुख कृष्णप्रसाद धितालले बताए।
‘अहिलेसम्म सरकारले कुनै विजनेश दिएको छैन, दलका नेताहरू आउनुभयो भने कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर संसदको कार्यसूची बनाउँछौं,’ उनले सेतोपाटीसँग भने।
मुख्यमन्त्री नियुक्तिको विवाद नटुंगिकन संसद बैठक बोलाएको भन्दै कांग्रेसले असहमति जाहेर गरेको छ। सभामुखसमेत जोडेर गण्डकीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सांसद राजीव गुरुङ ‘दीपक मनाङेको सहमतिमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।
सभामुख जोडेर मुख्यमन्त्री बनेको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट हालेको छ। रिटको सुनुवाई गर्दै सर्वोच्चले आज लिखित जवाफ पेश गर्न र दीर्घकालीन महत्वका कुनै काम नगर्न अन्तरिम आदेश दिइसकेको छ। रिटको पेशी वैशाख १० गतेका लागि तोकिएको छ।
सर्वोच्चमा सरकार गठनकै मुद्दा टुंगो नलागेकाले संसद बैठक बहिष्कार गर्ने पक्षमा रहेको कांग्रेस र राप्रपाले बताएको छ।
कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसद बैठकमा उपस्थित नहुने जानकारी गराएको सभामुख धितालले बताए।
‘सरकार गठनमा गठबन्धनले बलमिँच्याई गर्यो, १० गते पछाडि संसद बोलाएको भए पनि हुन्थ्यो,’ पाण्डेको भनाई उदृत गर्दै सभामुखले भने, ‘हामी आउँदैनौं, दलको बैठक बस्छौं।’
कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ। सरकार गठन र संसद बैठक आह्वान भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको कांग्रेस सांसदहरूले बताएका छन्। पूर्व मुख्यमन्त्री पाण्डेले संसद बैठक बहिष्कार गर्नुपर्ने बैठकमा बताएका छन्।
यता, राप्रपाले पनि संसद बैठक बहिष्कार गर्ने जनाएको छ।
मुख्यमन्त्री अधिकारीले अदालतबाट मुद्दाको टुंगो नलाग्दै विश्वासको मत लिन संसद बैठक आह्वान गरेको सत्तापक्षीय सांसदहरूले बताउँदै आएका थिए। राप्रपाले पनि समर्थन नदिने भएपछि विश्वासको मत सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता नै भएको छैन।
विश्वासको मत लिन २ दिनअघि नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुपर्ने संवैधानिक प्रावधान छ।
संसदमा रोकिएका विधेयक अघि बढाउने लगायतका काम बाँकी भएकाले अधिवेशन बोलाएको एमाले सांसद गोविन्दबहादुर नेपालीले बताए।
‘विश्वासको मत लिने प्रक्रिया पुगेको छैन, संसदका अरू पनि काम छन्,’ उनले भने ‘कार्यव्यवस्था परामर्शमा छलफल गरेर सहमतिमा पुग्छौं।’