बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को जनपरिचालन तथा सामाजिक अभियान विभागले १४ बुँदे अभियान घोषणा गरेको छ।
काठमाडौंमा बुधबार कार्यक्रम गरेर नेसपाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीदेखि आफ्नै खेतबारीमा भविष्य खोज्नेसम्मका अभियान घोषणा गरेको हो।
नेसपाले स्वदेशी उद्योग प्रबर्द्धन र मजदुरहरूको हकहित तथा अधिकार अभियानदेखि विदेशबाटै मतदान गर्न पाउने कानून कार्यान्वयनमा दबाबसमेत दिने भएको छ।
यस्ता छन् घोषित अभियान:
१. "समृद्धिका लागी स्वदेशमै लगनी, स्वदेशमै श्रम, वैदेशिक पलायनता र श्रम शोषणविरुद्ध हाम्रो अभियान” स्वदेशी उद्योगको प्रबर्द्धन र मजदुरहरुको हकहित र अधिकारको लागी अभियान।
२. “जुन देशमा छ मेरो ज्यान, पाउनु पर्छ त्यहीँबाट मतदान” अभियान। विदेशबाटै मतदान गर्न पाउने निर्वाचन कानुनको कार्यान्वयनमा दवाव अभियान।
३. “मेरो उत्पादन, मेरो मूल्य”, “पारीको रोकौं, बारीमा रोपौं” बिचौलियाको मूल्य निर्धारण गर्ने परिपाटीको अन्त्य गरी किसानले आफ्नो उत्पादन मूल्य आफैँ तोक्न अधिकार र नेपाली उत्पादनको उपभोग गर्न र कृषि उपज आयात कार्यबन्द नियन्त्रण गर्न र वैज्ञानिक भूभिसुधारको लागि अभियान।
४. “स्वस्थ आहार मेरो अधिकार" खाद्य मिसावट, कृत्रिम अभाव सृजना, मूल्यवृद्धि लगायतका मुद्धामा अभियान।
५. “माटोको सुगन्ध चिनौं, आत्मनिर्भर बनौं” प्रत्येक महिना सबै नेता कार्यकर्ता कम्तीमा एक दिन श्रम अभियानमा जोडिएर सामूहिक आय र उत्पादनमा जोडिन अभियान।
६. “कति बस्छौ युरोप र खाडीमा भविष्य खोजौं आफ्नै खेत बारीमा” विदेशमा रहेका युवाहरुलाई पुँजी र प्रविधिसहित देश फर्क अभियान।
७. “कि देउ रोजगार कि बनाउ स्वरोजार" युवाहरुलाई न्यूनतम रोजगारी दिनु पर्ने अन्यथा युवाहरुलाई शैक्षिक र व्यावसायिक सीपको प्रमाणपत्रको आधारमा प्रविधि सहयोगसँगै ५ प्रतिशत भन्दा न्यून व्याजदरमा कर्जा प्रदान गराउने अभियान।
८. “शिक्षामा आमुल सुधार (गाँउ र सहर), शैक्षिक अवसर सवैलाई बराबर" शिक्षा नीति, शैक्षिक पाठ्यक्रम, भौतिक पूर्वाधार, शिक्षण सिकाई क्रियाकलाप लगायतमा एकरुपताका लागि अभियान।
९. “ज्यानको मूल्य सबैको बराबर” स्वास्थ्य क्षेत्रमा आमुल सुधार र सबैलाई स्वास्थ्य सेवाको ग्यारेन्टीका लागि अभियान।
१० “संस्कृति र सांस्कृतिक सम्पदा संरक्षण, उन्तत संस्कृति र सांस्कृतिक सम्पदाको हस्तान्तरण” वैज्ञानिक जनमुखी, प्रगतिशिल, लोकतान्त्रिक संस्कृतिको प्रबर्द्धन र हस्तान्तरण अभियान।
११. "मेरो पनि रगत रातो छ” संविधान प्रदत्त अधिकार (जमिन, शिक्षा, छुवाछुतको अन्त्य) को कार्यान्वयनको, पूर्ण समानुपातिकताको कार्यान्वयन, वर्ण व्यावस्थाको उन्मुलनका निम्ती धार्मिक-साँस्कृतिक अभियान।
१२. “पहिचान तथा समावेशी पहुँच अभियान” अपूर्ण संघीयतालाई पूर्णता प्रदानको लागी संघीयताको पुर्नसिमाङ्कन र नामाङ्कनको र राज्यको हरेका निकाय र तहमा सबै राष्ट्रियता, क्षेत्रियता, भाषिक, लैगिक, धार्मिक तथा अल्पसंख्यक समुदायको समावेशी समानुपातिक पहुँचका लागि अभियान।
१३. 'अन्त्य गरौ भ्रष्टाचार, बनाउ समृद्धिको आधार” शक्तिशाली जनलोकपाल गठनको लागि जनदबाब अभियान।
१४. "म चुन्छु मेरो राष्ट्रपति” र “म चुन्छु मेरो मुख्यमन्त्री" प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय र मुख्यमन्त्रीय शासकीय व्यवस्थाको पक्षमा देशव्यापी अभियान।