नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन्।
शनिबार राति अबेर सुदूरपश्चिम एमाले संसदीय दल नेता राजेन्द्र रावलसहितका नेताहरूसँगको भेटमा एमाले अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्।
पछिल्लो समय सत्ता गठबन्धन दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढीरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौं आएका थिए।
अध्यक्ष ओलीको निवास बालकोटमा दुई घन्टाभन्दा बढी भएको छलफलमा विश्वासको मत लिन अझै समय भएको बताएका नेता रावलले जानकारी दिए।
‘विश्वासको मत लिनका लागि हामीसँग जेठ ५ गतेसम्मको समय छ। उहाँहरूलाई सहजीकरण नै गरेका छौं। बझाङमा एक सिट थपिदिएका छौं,’ रावलले सेतोपाटीसँग भने, ‘निर्वाचित सांसदले शपथ नै खानुभएको छैन। अहिले नै हतारिएर विश्वासको मत किन लिनुपर्यो?’
उनले सरकार सञ्चालनको आधार तयार नभई विश्वासको मत दिने आधार पनि तयार नहुने बताए।
‘सरकार सञ्चालनको आधार तयार गर्नुपर्यो। न्यूनतम साझा कार्यक्रम हुनुपर्यो। त्यो केही तय नगरी हतारिएर विश्वासको मत लिनुपर्दैन,’ उनले भने, ‘फेरि अर्कोतिर खुट्टा हालिरहेको पनि देखिन्छ। त्यसकारण हामी विश्वासको मत दिन हतारिने पक्षमा छैनौं। आजै मुख्यमन्त्री काठमाडौं आइराख्नुभएको छ भन्ने पनि सुनेका छौं। उहाँसँग पनि बुझ्नुस्।’
शनिबार मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको थियो। बैठक स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए।
यसअघि शुक्रबार तय गरिएको बैठक पनि स्थगित भएको थियो।
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने विषयमा असहज मान्दै आएको छ। सुरूमा उनलाई मुख्यमन्त्रीसमेत स्वीकार गरेको थिएन। एमालेले सोडारीबाहेक अरूलाई मुख्यमन्त्री बनाउन भने पनि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयबाटै निर्णय गरेर सुदूरपश्चिममा सोडारीलाई अघि सारेको थियो।
त्यसबाट चिढिएको एमालेले विश्वासको मत दिने विषयमा आनाकानी गर्दै आएको छ। एमालेले विश्वासको मत लिन छलफल नै नगरी प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीले प्रस्ताव दर्ता गराएकाले आफूहरू आन्तरिक छलफलमा रहेको बताउँदै आएको छ।
सत्ता समीकरणमै रहेको दल विश्वासको मतबारे अन्योल देखिएपछि सुदूरपश्चिममा माओवादी केन्द्र र समीकरणमा रहेका अन्य दल सशंकित भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउने विषयमा नै संशय पैदा भएको नेताहरू बताउन थालेका छन्।
सोडारी एमालेका नयाँ निर्वाचित प्रदेशसभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदका समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।
एमाले मात्रै होइन सुदूरपश्चिम मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्तिमा पनि दुई धार छ।
रेशम चौधरी पक्षले मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप नै लगाएको छ भने अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ सांसद सरकारमा छन्।
नागरिक उन्मुक्तिका रेशम पक्षका पाँच जना सासंद मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडानमा छन्।
मुख्यमन्त्रीले एक महिना भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्छ।