नेकपा एमालेका नव निर्वाचित सांसद सुहाङ नेम्वाङले संसदमा मुलतः दुई विषयलाई आफ्नो ध्यान हुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा सदस्यको शपथपछि पत्रकारहरूसँग कुरा गर्दै सांसद नेम्वाङले इलामको विभिन्न समस्या समाधानको पहलका लागि के-के कुरा उठाउन सकिन्छ भन्नेतर्फ र नीति नियमले नछोएको क्षेत्रलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आफ्नो ध्यान हुने बताए।
‘यहाँ इलामेली जनताको माया, विश्वास र भरोसाका कारण उभिएको छु। इलामको समस्याको कुराहरूलाई समाधान गर्न के के कुराहरू उठाउन सकिन्छ भन्ने कुरामा विशेष ध्यान हुन्छ,’ उनले भने, ‘ दोस्रो भनेको विकासका आधारहरू नछोएका, कतिपय नीति नियम नभएका पनि हुनसक्छन्, परिमार्जन पनि गर्नुपर्ने हुनसक्छ। त्यसमा ध्यान दिएर अगाडि बढ्छु।’
उनले आजको दिन आफ्ना लागि ऐतिहासिक दिन भएको पनि बताए।
‘अलि अलि भावुक पनि भएको छु। हर्षित पनि भएको छु। इलामेली जनताको हितमा काम गर्न पाउनु र इलामको समस्या र विकासका कुराहरूलाई यहाँ ल्याउन पाउनु भनेको ठूलो अवसर हो,’ सुहाङले भने।
उनल नेपालमा विकासका कामहरू धेरै अगाडि बढिरहेको र नीति र नियम बनेको तर प्राविधिक कारणले होस् या सुशासनमा कमजोरीको कारणले ती सबै कामहरूले पूर्णता नपाएको र नीति नियम कार्यन्वयन नभएको बताए।
‘त्यसैले हामी सबैले सहकार्य गरेर। एकअर्कासँग समन्वय गरेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरामा एकबद्ध भएर लाग्नुपर्छ भन्ने लाग्छ,’ उनले भने।
आफ्नो बाबु सुवास नेम्वाङले देखाएको इमान र निष्ठाको बाटोबाट ती सबै कामलाई पूर्णता दिने गरेर म अगाडि बढ्ने सुहाङले बताए।
संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गर्दै आएको अवरोधबारे पनि पत्रकारहरूले सुहाङलाई प्रश्न गरेका थिए।
जबाफमा उनले आफू सँधै एकतामा विश्वास राख्ने बताए।
'हरेक कुराको हल भनेको संवादबाट हुन्छ। संवादमा आएर सौहार्दपूर्ण बाटो बनाएर संसदलाई राम्रो संग चल्न दिनुपर्छ लाग्छ। त्यसरी नै हाम्रा अग्रज र अभिभावकहरू अगाडि बढ्नुहुन्छ भन्ने मलाई लाग्छ,' उनले भने।