नेपाली कांग्रेसले पूर्वमन्त्री सूर्यमान गुरूङको निधनमा तीन दिनसम्म पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले गुरूङको निधनमा शोक कार्यक्रम निर्धारण गरेको छ।
जसअनुसार वैशाख २७ देखि २९ गतेसम्म केन्द्रीय, प्रदेश र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गुरूङको निधनमा कांग्रेसले वैशाख २८ गते शुक्रबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द रहने पनि निर्णय गरेको छ।
साथै १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय भएको उनले बताए।
पूर्वकेन्द्रीय सदस्य, संविधान सभा सदस्यसमेत रहेका गुरूङको निधनमा शोक प्रस्ताव पनि पारित भएको कांग्रेसले जनाएको छ।
गुरूङ श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्थानीय विकास पूर्वमन्त्री पनि भएका थिए।
गुरुङको वैशाख २५ गते बिहान १०ः३० बजे काठमाडौं ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
२०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा सुरू गरेका गुरूङलाई २०१७ मा प्रजातन्त्र अपदस्थपछि तत्कालीन व्यवस्थाले पक्राउ वारेण्ट जारी गरेको थियो।
त्यसपछि उनी भारतको दार्जलिङ निर्वासित भई सशस्त्र संगठनमा सक्रिय रहेका थिए।
नेपाली कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्वकेन्द्रीय सभापति, नेपाल किसान संघका पूर्वकेन्द्रीय महासचिव, कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको पूर्वसदस्य जस्ता विभिन्न पदमा रहेर उनले काम गरेका थिए।
गुरुङले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।