प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।
संसदकाे गतिराेध हटाउने विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड केही बरेअघि बूढानीलकण्ठ पुगेका हुन्।सहकारीको बचत अपचलन छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ।
‘प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद र सहमतिका लागि प्रधानमन्त्रीज्यू देउवा निवास आइपुग्नु भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले सेतोपाटीसँग भने।
प्रमुख दलहरूबीच सहकारीको बचत अपचलन, हिनामिना, ठगी, दुरूपयोग छानबिन गर्न संसदीय समिति गठन गर्ने सैद्धान्तिक सहमति जुटिसकेको छ।तर कार्यादेशमा कुरा मिल्न सकेको छैन।
कार्यादेश तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल बनेको छ। कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनाल छन्। त्यस्तै कार्यदलको बैठकमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन्।
कार्यदलको पाँच पटक भन्दा बढी बैठक बसे पनि क्षेत्राधिकारमा कुरा मिलेको छैन। शनिबार पनि सहमति नजुटेपछि कार्यादेश टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने समझदारी भएको थियो।
यसैबीच प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ।