अमेरिकी मध्यावधि निर्वाचनमा आफ्नै पार्टीले संसद्का दुवै सदन गुमाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा रातो टोपीको तस्बिर पोस्ट गरे।
टोपीमा ठूलो अक्षरले लेखिएको थियो– भिटो।
त्यसको केही घण्टापछि ह्वाइट हाउसले ट्रम्पको तस्बिर राख्दै लेख्यो– पीएसए : ट्रम्प अझै पनि तपाईंका राष्ट्रपति हुन्।
चुनावमा पराजय बेहोरे पनि आफू राष्ट्रपति पदमा रहेको र आफ्नो हातमा अझै शक्ति रहेको सन्देश दिन खोजिएको यी पोस्टलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अर्थपूर्ण रूपमा व्याख्या गरेका छन्।
नोभेम्बर ३ को निर्वाचनमा डेमोक्र्याटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेपछि अमेरिकी संसद्को शक्ति सन्तुलन फेरिएको छ।
यससँगै ट्रम्पले बाँकी दुई वर्ष आफ्नै पार्टीको बहुमतको भरमा नीति तथा कार्यक्रम अघि बढाउन पाउने छैनन्।
यही परिस्थितिमा आएको ‘भिटो’ टोपीको तस्बिरलाई संसदमा बहुमत गुमाए पनि राष्ट्रपतिको संवैधानिक विशेषाधिकार प्रयोग गरेर विपक्षीलाई रोक्न सक्ने ट्रम्पको चेतावनीका रूपमा हेरिएको छ।
अमेरिकी अखबार द वासिङ्टन पोस्टका अनुसार ट्रम्पले चुनावी नतिजा स्वीकार गर्ने र डेमोक्र्याटसँग मिलेर काम गर्ने बताएका भए पनि आफूलाई अस्वीकार्य हुने विधेयक रोक्ने चेतावनी दिएका थिए।
फक्स न्युजसँग कुरा गर्दै उनले डेमोक्र्याटले मन नपर्ने विधेयक पठाए आफूले भिटो लगाइदिने बताएका थिए। उनले दुई वर्षसम्म सबै विधेयकमा भिटो लगाएर बस्न नचाहेको बताए पनि आफ्नो हातमा त्यो अधिकार रहेको स्पष्ट पारेका थिए।
यसअघिका कुन-कुन अमेरिकी राष्ट्रपतिहरूले प्रयोग गरेका थिए भिटो
अमेरिकी राष्ट्रपतिले भिटो प्रयोग गर्ने अधिकार संविधानले नै दिएको हो।
सन् १७९२ मा तत्कालीन राष्ट्रपति जर्ज वासिङ्टनले पहिलोपटक नियमित भिटो प्रयोग गरेका थिए। त्यसयता अमेरिकाका विभिन्न राष्ट्रपतिले आफ्नो राजनीतिक प्राथमिकता र संसद्सँगको मतभेदका आधारमा यो अधिकार प्रयोग गर्दै आएका छन्।
अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाको ऐतिहासिक अभिलेखअनुसार अहिलेसम्म सबैभन्दा धेरै भिटो प्रयोग गर्ने राष्ट्रपति फ्र्यांकलिन डि रुजवेल्ट हुन्।
उनले सन् १९३३ देखि १९४५ सम्मको कार्यकालमा ६३५ विधेयकमा भिटो लगाएका थिए। त्यसमध्ये ९ वटा भिटोलाई संसदले निष्प्रभावी बनाएको थियो।
दोस्रो धेरै भिटो प्रयोग गर्ने राष्ट्रपति ग्रोभर क्लिभल्यान्ड हुन्।
उनले दुई कार्यकाल जोड्दा ५८४ पटक भिटो प्रयोग गरेका थिए। त्यसैगरी युलिसिस एस ग्रान्टले ९३ र रोनाल्ड रेगनले ७८ पटक भिटो प्रयोग गरेका थिए।
भिटो प्रयोग गर्नु भनेको सधैँ राष्ट्रपतिको निर्णय नै अन्तिम हुनु भने होइन।
सन् १८६५ देखि १८६९ सम्म राष्ट्रपति रहेका एन्ड्र्यु जोन्सनले आफ्नो कार्यकालमा २९ पटक भिटो प्रयोग गरेका थिए। तर संसद्ले तीमध्ये १५ वटा निर्णय उल्ट्याइदिएको थियो।
जोन्सन र संसद्बीचको विवाद अमेरिकी इतिहासमा भिटो अधिकारको चर्चित उदाहरण मानिन्छ। गृहयुद्धपछि दासप्रथा अन्त्य भएको अवस्थामा काला नागरिकलाई नागरिकता र समान अधिकार दिने सन् १८६६ को नागरिक अधिकारसम्बन्धी विधेयकमा जोन्सनले भिटो लगाएका थिए। उनले सरकारी हस्तक्षेप बढ्ने भन्दै विधेयकको विरोध गरेका थिए। तर संसद्का दुवै सदनले आवश्यक दुईतिहाइ समर्थन जुटाएर उनको भिटो निष्प्रभावी बनाए र विधेयक कानुन बन्यो।
त्यस्तै ट्रम्पले पनि आफ्नो पहिलो कार्यकालमा १० पटक भिटो प्रयोग गरेका थिए। त्यसमध्ये सन् २०२० मा राष्ट्रिय सुरक्षा तथा रक्षा बजेटसम्बन्धी विधेयकमा लगाएको भिटोलाई संसद्ले उल्ट्याएको थियो। प्रतिनिधिसभाले ३२२–८७ र सिनेटले ८१–१३ मतले भिटो निष्प्रभावी बनाएका थिए।
ट्रम्पपछिका राष्ट्रपति जो बाइडेनले आफ्नो चारवर्षे कार्यकालमा १३ वटा विधेयकमा भिटो लगाएका थिए। बाराक ओबामाले १२ पटक भिटो प्रयोग गरेका थिए। ओबामाको कार्यकालमा पनि एउटा भिटोलाई संसद्ले उल्ट्याएको थियो।
अमेरिकी संसद्को अभिलेखअनुसार सन् १७८९ देखि हालसम्म राष्ट्रपतिहरूले कुल २ हजार ५९९ पटक भिटो प्रयोग गरेका छन्। तीमध्ये ११२ वटा भिटोलाई संसद्ले निष्प्रभावी बनाएको छ।
ट्रम्पका लागि भिटो कति प्रभावकारी हतियार?
अमेरिकी संविधानअनुसार संसद्का दुवै सदनबाट पारित विधेयक राष्ट्रपतिसमक्ष पुग्छ। राष्ट्रपतिले त्यसमा हस्ताक्षर नगरी आपत्तिसहित सम्बन्धित सदनमा फिर्ता पठाउन सक्छन्। यसलाई भिटो भनिन्छ।
राष्ट्रपतिले भिटो गरेको विधेयक फेरि कानुन बनाउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ।
त्यसैले संसद्मा सामान्य बहुमत हासिल गरे पनि डेमोक्र्याटसँग ट्रम्पको भिटो निष्प्रभावी बनाउन पुग्ने संख्या छैन।
यसले ट्रम्पलाई डेमोक्र्याटले अघि बढाउने विधेयक रोक्ने पर्याप्त अधिकार दिन्छ। तर संसद्को सबै काम रोक्ने अधिकार भने दिँदैन।
डेमोक्र्याटले दुवै सदन नियन्त्रणमा लिएपछि ट्रम्प प्रशासनका निर्णयमाथि अनुसन्धान गर्न, सरकारी अधिकारीलाई संसदीय सुनुवाइमा बोलाउन र विभिन्न विषयमा कागजात माग्न सक्छन्। सिनेटको बहुमतले ट्रम्पले नियुक्त गर्न चाहेका मन्त्री तथा संघीय न्यायाधीशका नामसमेत रोक्न सक्छ।
पोलिटिफ्याक्टले प्रिन्स्टन विश्वविद्यालयका राजनीतिशास्त्री चार्ल्स क्यामरुनलाई उद्धृत गर्दै डेमोक्र्याटले ट्रम्पलाई राजनीतिक रूपमा अप्ठ्यारो पार्न लोकप्रिय विधेयक ल्याउन सक्ने विश्लेषण गरेको छ।
मानौं कंग्रेसले इरान युद्धको खर्च रोक्ने वा स्वास्थ्य बिमासम्बन्धी सुविधा पुनःस्थापित गर्ने विधेयक ल्यायो।
ट्रम्पले त्यस्ता विधेयकमा भिटो लगाए डेमोक्र्याटले उनलाई जनताको लोकप्रिय मागको विरोध गर्ने राष्ट्रपतिका रूपमा प्रस्तुत गर्न सक्छन्। क्यामरुनले यसलाई ‘ब्लेम गेम भिटो’ अर्थात् भिटोमार्फत राजनीतिक दोष थोपर्ने रणनीतिका रूपमा व्याख्या गरेका छन्।
यसरी हेर्दा ट्रम्पको ‘भिटो’ टोपीले दुईवटा सन्देश दिन खोजेको देखिन्छ। पहिलो, संसद्को नियन्त्रण गुमाए पनि राष्ट्रपति पद र संवैधानिक अधिकार अझै आफ्नै हातमा रहेको। दोस्रो, विपक्षीको बहुमतले अघि बढाउने नीतिमा आफूले अवरोध गर्न सक्ने।
तर संसदमा बहुमत गुमाएपछि ट्रम्पका लागि आफ्नो एजेन्डा अघि बढाउन पहिलेभन्दा कठिन हुनेछ। भिटोले डेमोक्र्याटका विधेयक रोक्न सक्ला, तर संसद्मा उनीहरूको बहुमत र सरकारमाथि निगरानी गर्ने अधिकार रोक्न सक्दैन।