प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी हाँसोको पात्र बने।
कुन विधेयकमाथि छलफल भइरहेको मेसो नपाउँदा बोल्न रोस्टममा पुगेका केसी अलमलिएका थिए।
सभामुख आसनबाट उपसभामुख इन्दिरा राना मगरले उनलाई विनियोजन विधेयकमाथि छलफल भइरहेको छ भन्नुपरेको थियो।
सांसद केसीले सुरक्षण मुद्रणसम्बन्धी विधेयकबारे बोल्न सुरू गरेपछि सांसदहरू हाँसेका थिए।
प्रतिनिधि सभा बैठकमा बिहीबार तीन विधेयक र एउटा सम्झौताको विषयमाथि छलफल गर्ने कार्यसूची थियो।
सौर्य अलाइन्ससम्बन्धी सम्झौता अनुमोदन गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने, विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने र सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची थियो।
सांसद केसीले विनियोजन विधेयकको सैद्धान्तिक छलफल चलिरहेका बेला नाम टिपाएर सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा धारणा राख्न खोजेका थिए।
उनले जसै राष्ट्रिय सभामा उत्पती भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयकमा छलफल गर्दैछौं भनेपछि सांसदहरू हाँसे। उनले ‘यो अत्यन्त संवदेनशील..’ मात्र भनेका थिए सांसदहरुको हाँसोपछि रोकिए।
त्यसपछि उनले कार्यसूची हेरे। लगत्तै सभामुखको आसनमा रहेकी उपसभामुख रानामगरले ‘विनयोजन विधेयकमा’ भन्दै सम्झाइन्।
‘यो सुरक्षण मुद्रणमा हैन’ भन्दै रोस्टमबाट केसीले सोधेपछि विनियोजन विधेयकमा हो भन्दै उपसभामुखले जबाफ दिनुपरेको थियो।
सांसद केसी विनियोजन विधेयकमाथि छलफल सुरु हुँदा प्रतिनिधि सभा बैठक कक्षमा थिएनन्।
उनी प्रतिनिधि सभा बैठक कक्षमा छिर्दा विनियोजन विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले धारणा राखिरहेका थिए।
प्रतिनिधि सभाको कार्यव्यवस्था शाखाका एक कर्मचारीका अनुसार सांसद सुवाल बोलिरहँदा केसीले बोल्न नाम टिपाएका थिए। तर रोष्टममा पुग्ने बेलासम्म उनले विषय पत्तो पाएनन्।
आफू सँगैको कुर्सीमा रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्की र नगिना यादवलाई पनि केसीले सोधेनन्। जसका कारण केसी रोस्टममा पुगेर रनभुल्लमा मात्र परेनन्, हाँसोको पात्र बने।
रनभुल्लमा परेपछि उनले केहीबेर सम्हालिने कोसिस गरेका थिए। ‘विनयोजन विधेयकबारे केही कुरा राख्न चाहन्छु’ भन्दै केसी बोल्न खोजे, तर बीचमै अड्किए।
‘वास्तवमा २०८१/८२ मा जुन विनियोजन विधेयक भएको छ। यसमा समग्र रुपले…’, यति भनेपछि केसी रोकिए। ‘वास्तवमा म सुरक्षण मुद्रणका लागि बोल्न आइरहेको थिएँ। तल्लोमा बोल्ने हिसाब थियो मेरो। म अर्को पटक बोल्ने हिसाब गर्छु, धन्यवाद,’ यति भनेर केसी रोस्टमबाट निस्किए।
प्रतिनिधि सभाको कार्यसूचीमा विनियोजन विधेयकपछि सुरक्षण मुद्रण विधेयकमाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो। तर सांसद केसी त्यसपछि बैठकमा बसेनन्।
उनी सुरक्षण मुद्रण विधेयकको छलफलमा पनि सहभागी भएनन्। बरु प्रतिनिधि सभा बैठक कक्षबाट बाहिरिपछि उनले ‘संसद सचिवालय झुक्किएको’ प्रतिक्रिया दिए।
‘मैले सुरक्षण मुद्रणमा बोल्न नाम लेखाएको थिएँ। म चिया खान बाहिर गएको थिएँ। भित्र आएपछि बोल्न नाम बोलाइयो। तर यो विनियोजन हो। सुरक्षण मुद्रण होइन भनियो। अनि मैले सुरक्षण मुद्रणमा बोल्ने हो भनेर म रोस्टमबाट फर्किएँ ’, केसीले भने, ‘सचिवालय झुक्कियो।’
संसद सचिवालयको कार्यव्यवस्था शाखाका कर्मचारीले भने नाम उल्लेख नगर्ने सर्तमा आफ्नो कमजोरी लुकाउन सांसद केसीले कर्मचारीलाई दोष लगाएको बताए। कार्यव्यवस्था शाखाले प्रतिनिधि सभाको बैठकको दैनिक बैठक सञ्चालन र व्यवस्थापनको काम गर्ने गर्दछ।
‘हामीलाई दोष देखाएर उहाँ उम्कन खोज्नुभएको होला’, ती कर्मचारीले भने, ‘हाम्रो प्रतिप्रश्न छ, किन अरु सांसद झुक्किएनन् र उहाँ मात्रै झुक्किनुभयो?’
प्रतिनिधि सभाको बिहीबारको घटनाले सांसदहरु कानुन निर्माण र यसका छलफलमा ध्यान दिँदैनन् भनेर लाग्दै आएको आरोप पुष्टि गर्ने उदाहरण थपेको छ।
यसअघि राष्ट्रिय सभामा विद्युतीय व्यापार (इकमर्स) विधेयकलाई विद्युत ब्यापार (बिजुली किनबेच) विधेयक सोचेर सांसदहरु छलफल गरेका थिए। मन्त्रीले समेत भारतमा बिजुली बेच्न विधेयक ल्याएको भन्दै जवाफ दिएका थिए।
राष्ट्रिय सभामा भएको उक्त छलफल संसदीय व्यवस्थाकै मजाक बनेको थियो।
यो पनि: राष्ट्रिय सभामा यसरी भयो संसदीय व्यवस्थाकै मजाक बन्ने घटना
भिडिओ: