प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक केही ढिला गरी बस्ने भएको छ।
सोमबार बिहान ८ बजे बस्ने तय भएको समितिको बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो।
समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा लगातार छलफल गरिरहेको छ। सोमबार सम्भवतः यसलाई पारित गरेर संसदमा पठाउने तयारी छ।
त्यसअघि सरकारलाई शिक्षक महासंघसँग विधेयकमा भएका विषयमा सहमति गर्न समय दिएर बैठकको समय दिउँसो धकेलिएको समिति स्रोतले जनाएको छ।
असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरेपछि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन स्थगित गरेका थिए।
'विधेयकमा भएका विषय र शिक्षकहरूको मागका सन्दर्भमा सहमति जुटाउनका लागि सरकारलाई समय दिएका हौं। विधेयक संसदमा गएर पारित भएपछि विवाद नआओस् भन्ने सुनिश्चितका गर्न सरकारलाई एक पटक महासंघसँग छलफल गर्न भनेका हौं,' स्रोतले भन्यो।
स्रोतका अनुसार शिक्षकहरूले उठाएका माग र विधेयकमा व्यवस्था भएका केही विषय फरक परेको छ।
विधेयकले पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरेको छ। शिक्षकहरूले भने ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै सरूवाका विषयमा पनि शिक्षकहरूको माग र विधेयकले गरेको व्यवस्था फरक छ।
शिक्षकहरूले एक/एक वर्षमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए।
समितिले तयार पारेको विधेयकमा सरूवाको मापदण्ड तोकेको छ।
विधेयकमा एउटै स्थानीय तहभित्रका विद्यालयमा सरूवामा दुई वर्षपछि, एउटा पालिकाबाट अर्को पालिकामा ५ वर्षमा र एउटा प्रदेशबाट अर्को प्रदेशमा ७ वर्षमा मात्रै सरूवा गर्न मिल्ने व्यवस्था राखिएको छ।
सरूवाका अवस्थामा पनि शिक्षकको माग र विधेयकमा उल्लिखित प्राबधानबारे तालमेल मिलेको छैन।
विधेयकमा बिरामी परेको अवस्थामा शिक्षकलाई उनीहरुको पायक पर्ने स्थानमा सरूवा गर्न सकिने भनेको छ। शिक्षकहरूले भने आफूमात्र नभइ परिवारका अन्य सदस्य बिरामी भए पनि पायक पर्ने ठाउँमा सरूवा हुन पाउनुपर्ने माग राखेका थिए।
यी सबैमा सहमति गर्नका लागि सरकारलाई महासंघसँग वार्ता गर्न समितिले समय दिएको हो।
यो पनि: यी हुन् विद्यालय शिक्षा विधेयकमा सहमति जुटेका १० विषय