तपाईंले सेयर बजारमा लगानी गर्नुभएको छ? गर्नुभएको छ भने चुनावपछि उत्साहित हुनुभएको थियो होला।
अब स्थिर सरकार बन्छ, अर्थतन्त्रमा सुधार आउँछ र सेयरको मूल्य पनि बढ्छ भन्ने आशा पनि गर्नुभएको हुन सक्छ। झन्डै दुईतिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनेपछि धेरै लगानीकर्ताको अपेक्षा यस्तै थियो।
नभन्दै गत चैतमा भएको चुनावअघिको तुलनामा मतपरिणामपछि नेप्से परिसूचक करिब ९ प्रतिशत बढेर २९५० विन्दुसम्म पुग्यो।
तर प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार बनेपछि बजारले अपेक्षा अनुसार गति लिन सकेन। बीचमा केही समय उकालो लागे पनि त्यसले निरन्तरता पाएन। गत शुक्रबार नेप्से २६२१ विन्दुमा झरेको छ। यो चुनावपछिको उच्च विन्दुभन्दा ११ प्रतिशतभन्दा बढी कम हो।
सेयर बजार विश्लेषक डा. भरतबहादुर थापा अहिले बजारमा लगानीकर्ताको विश्वास नै कमजोर भएको बताउँछन्।
उनका अनुसार नीतिगत सुधारका काम अघि बढेका छन् र बजारमा नयाँ कारोबार प्रणाली तथा उपकरण ल्याउने तयारी भइरहेको छ। तर यी प्रयासले मात्रै लगानीकर्ताको मनोबल बढाउन सकेका छैनन्।
'नीतिगत रूपमा धेरै कुरा मिलिसकेका छन्। भविष्यका योजनाहरू पनि राम्रा आएका छन्। तर बजारलाई सबभन्दा धेरै असर पारेको राजनीतिक अवस्था र त्यसले सिर्जना गरेको अनिश्चितताले हो,' उनले भने।
चुनावपछि बजार बढ्नुको मुख्य आधार नयाँ सरकारप्रतिको अपेक्षा थियो। स्थिर सरकार बनेपछि नीतिगत अन्योल हट्ने, अर्थतन्त्रमा सुधार आउने र निजी क्षेत्रको लगानी बढ्ने विश्वास लगानीकर्तामा थियो।
तर राजनीतिक र व्यावसायिक वातावरणबारे आशंका हटेन। त्यसमाथि सरकारले साना–ठूला व्यवसायीहरूलाई पक्राउ गर्न थाल्यो। खासगरी व्यवसायीमाथि भएको धरपकडले लगानीको वातावरणबारे थप अन्योल सिर्जना गर्यो। लगानीकर्ताहरूमा अनिश्चितता बढायो।
सरकारको आगामी कदम के हुन्छ, कसलाई कस्तो कारबाही हुन्छ र त्यसले व्यावसायिक वातावरणमा कस्तो असर पार्छ भन्ने स्पष्ट नभएकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसिरहेका छन्।
अहिले फेरि पुराना राजनीतिक दलका नेताहरू बेला बेला आन्दोलन गर्ने भनिरहेका छन्। यस्ता आशंकाले लगानीकर्तालाई तत्काल ठूलो जोखिम लिनबाट रोक्ने थापा बताउँछन्।
'एकातिर सरकारले गर्ने भनेको सुधार अपेक्षा गरिए अनुसार व्यवहारमा नदेखिँदा सुरूआती उत्साह टिक्न सकेन,' अर्थशास्त्री समेत रहेका थापाले भने, 'अर्कातिर फेरि आन्दोलन भयो भने पहिलेजस्तै जल्ने, तोडफोड हुने हो कि भन्ने खालको मनोवैज्ञानिक त्रास पनि लगानीकर्तामा छ।'
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको ब्याजदर घटेको छ। ब्याजदर कम हुँदा बैंकमा पैसा राखेर पाइने प्रतिफल घट्छ। यसले सेयर बजारमा लगानी गर्ने आकर्षण बढाउन सक्छ।
तर ब्याजदर घट्दैमा सेयर बजारमा लगानी बढ्छ भन्ने हुँदैन। लगानीकर्ताले आफूले किनेको सेयरको मूल्य बढ्ने र कम्पनीबाट प्रतिफल पाउने सम्भावना पनि हेर्छन्।
'ब्याजदर घटेर लगानीको सम्भावना बढे पनि बजारप्रतिको विश्वास कमजोर हुँदा त्यसको लाभ सेयर बजारमा देखिन सकेको छैन,' थापाले भने।
बैंकमा रहेको रकम सेयर बजारमा आउन लगानीकर्ताले त्यसलाई अन्य विकल्पभन्दा आकर्षक ठान्नुपर्छ। त्यसका लागि कम्पनीहरूको वित्तीय अवस्था महत्त्वपूर्ण हुन्छ।
कम्पनीले कति नाफा कमाइरहेको छ, भविष्यमा आम्दानी बढ्ने सम्भावना कति छ र लाभांश दिन सक्ने क्षमता कस्तो छ भन्ने आधारमा लगानीकर्ताले सेयरको मूल्यांकन गर्छन्। ब्याजदर कम भए पनि कम्पनीको आम्दानी र प्रतिफलको सम्भावना कमजोर छ वा बजारको दिशा अनिश्चित छ भने लगानी आकर्षित हुन कठिन हुन्छ।
त्यस्तै सेयर बजारमा साना लगानीकर्ताको सहभागिता मात्रै पर्याप्त नहुने थापा बताउँछन्।
ठूला व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले पनि पुँजी परिचालन गर्नुपर्छ। उनीहरूको सहभागिताले बजारमा माग बढाउनुका साथै दीर्घकालीन लगानीको आधार तयार गर्न सक्छ।
'ठूला लगानीकर्ता बजारमा आएनन् भने सानाले मात्रै बजार बढाउन सक्दैनन्,' उनले भने, 'ठूला लगानीकर्ताले लगानी बढाउँदा वा घटाउँदा त्यसको प्रभाव समग्र बजारमा पर्छ।'
बजार घट्दा सबभन्दा बढी जोखिम थोरै बचतबाट सेयर किनेका सर्वसाधारणले भोग्न सक्छन्। ठूला लगानीकर्तासँग विभिन्न कम्पनी र क्षेत्रमा लगानी बाँड्ने, आवश्यक पर्दा थप पुँजी परिचालन गर्ने र जोखिम व्यवस्थापन गर्ने क्षमता तुलनात्मक रूपमा बढी हुन्छ।
तर साना लगानीकर्ताका लागि मूल्यमा आएको गिरावटले लगानीको ठूलो हिस्सा प्रभावित पार्न सक्छ। थप सेयर किनेर औसत लागत घटाउने कि घाटा सहेर बिक्री गर्ने भन्ने अन्योलमा साना लगानीकर्ता पर्न सक्छन्।
'बजारको दिशा स्पष्ट नहुँदा थप लगानी गर्ने निर्णय पनि कठिन बन्छ,' थापाले भने।
नयाँ सरकार आएपछि पुँजीबजार सुधारका लागि केही महत्त्वपूर्ण कदम अघि बढेका छन्।
अर्थ मन्त्रालयले २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना ल्याएको छ। यसमा नेप्सेको पुनर्संरचना, नयाँ बेन्चमार्क परिसूचक, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार र गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश गराउने व्यवस्था समेटिएका छन्। मार्जिन लेन्डिङ, इन्ट्राडे कारोबार, सेयर सापटी र सर्ट सेलिङजस्ता नयाँ व्यवस्था पनि छन्।
यी व्यवस्था कार्यान्वयनमा आए बजारको कारोबार प्रणाली र लगानीका विकल्प विस्तार हुन सक्छन्। संस्थागत लगानीकर्ताको सहभागिता बढे दीर्घकालीन पुँजी भित्रिने आधार तयार हुन सक्छ।
तर सरकारका नीति र योजना राम्रा देखिनु एउटा पक्ष हो, तिनको कार्यान्वयनमा विश्वास हुनु अर्को।
राजनीतिक स्थायित्व, नीतिगत निरन्तरता र अर्थतन्त्रको आगामी दिशाबारे स्पष्टता नहुँदा लगानीकर्ता तत्काल ठूलो जोखिम लिन चाहँदैनन्। उनीहरू सरकारका आगामी कदम र त्यसले बजारमा पार्ने प्रभाव हेरेर मात्रै नयाँ लगानीको निर्णय गर्न चाहन्छन्। त्यसैले बजारको समस्या नीतिगत सुधारको अभाव मात्रै होइन, सरकारको दृष्टिकोण र व्यवहारप्रतिको विश्वास पनि हो।
'अहिले सम्बन्धित निकाय वा संस्था वा अर्थमन्त्रीले के भने भन्ने कुराले खास प्रभाव पार्न छाडेको छ। सेयर बजारबारे प्रधानमन्त्रीको धारणा के छ भन्ने कुरा महत्त्वपूर्ण भएजस्तो देखिएको छ,' थापाले भने, 'सरकारको मुख्य नेतृत्वले पुँजीबजारलाई कसरी हेरेको छ भन्ने कुरा स्पष्ट नभएसम्म लगानीकर्ताले दीर्घकालीन लगानीको निर्णय गर्न कठिन हुन्छ।'
सुशासन र वित्तीय पारदर्शिताको सवाल पनि यससँग जोडिन्छ।
सरकारको उद्देश्य सुशासन कायम गर्नु भए पनि त्यसको कार्यान्वयनमा अन्योल देखियो भने निजी क्षेत्रको मनोबल प्रभावित हुन सक्छ। वैध लगानी र अवैध गतिविधिबीच स्पष्ट भेद हुन नसक्दा लगानीकर्ताले आफ्नो लगानी जोखिममा पर्न सक्ने आशंका गर्न सक्ने विश्लेषक थापा बताउँछन्।
'सुशासनका कदम दीर्घकालमा सकारात्मक हुन्। तर लगानीकर्ताको विश्वास अहिले नै गुम्यो भने त्यसलाई फेरि फर्काउन कठिन हुन्छ,' उनले भने, 'त्यसैले यसलाई एक एक चरण गर्दै मिलाउँदै लैजानुपर्ने हुन्छ।'
लगानीकर्ता तथा ब्रोकरहरू पनि सेयर बजार सुधारका निम्ति सबभन्दा पहिले सरकारले पुँजीबजारप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट बनाउनुपर्ने बताउँछन्।
उनीहरूका अनुसार प्रधानमन्त्री, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डबाट आउने नीति तथा सन्देशमा एकरूपता हुनुपर्छ। सरकारले अघि सारेका सुधारका कार्यक्रम कहिले र कसरी कार्यान्वयन हुन्छन् भन्ने स्पष्ट कार्ययोजना आवश्यक छ।
त्यससँगै निजी क्षेत्रले लगानी सुरक्षित रहेको महसुस गर्ने वातावरण बनाउनुपर्छ।
'व्यवसायीमाथि हुने कारबाही कानुनी प्रक्रिया अनुसार हुन्छ र वैध व्यवसाय तथा लगानीलाई अनावश्यक जोखिममा पारिँदैन भन्ने विश्वास पनि सरकारले दिलाउनुपर्छ,' एक लगानीकर्ताले भने।
यसअघि प्रधानमन्त्रीले व्यवसायी र लगानीकर्तासँग भेटघाट गर्दा बजारले सकारात्मक प्रतिक्रिया दिएको उदाहरण छ। यही साल भदौमा प्रधानमन्त्री बालेन शाहले केही ठूला व्यवसायीसँग भेटघाट गरेका थिए। त्यस आसपास सेयर बजारमा सुधार देखियो।
तर भेटघाटपछि बजार क्षणिक समयका लागि बढ्नु पर्याप्त हुँदैन। त्यसको प्रभाव टिकाउन नीतिगत निर्णय र व्यवहारमा निरन्तरता देखिनुपर्छ।
लगानीकर्ताले सरकारको प्रतिबद्धता व्यवहारमा नदेखेसम्म उत्साह नहुने विश्लेषक थापा बताउँछन्।
'संस्थागत तथा ठूला लगानीकर्तालाई बजारमा पुँजी परिचालन गर्न प्रोत्साहित गर्ने नीतिगत आधार तयार गर्नुपर्छ। यसले बजारमा माग बढाउन र लगानीको अवधि लामो बनाउन सहयोग गर्न सक्छ,' उनले भने।
लगानीकर्ताले भरोसा गर्न सक्ने नीति, सुरक्षित व्यावसायिक वातावरण, कम्पनीहरूको राम्रो वित्तीय अवस्था र लगानीबाट प्रतिफल पाउने सम्भावना बढ्नु नै दिगो सुधारका आधार हुन्। यी पक्षमा सुधार देखिए बजारमा माग र लगानी दुवै फर्किन सक्ने उनी बताउँछन्।
***