आइजिपीबाट हटाइएको विषयमा दानबहादुर कार्कीले दिएको रिटमा अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा सर्वोच्च अदालतमा आज बहस हुन सकेन।
अन्तरिम आदेशबारेको निर्णयका लागि हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा दुबै पक्षबाट बहस हुने तय भएको थियो।
छलफलका लागि प्रहरी महानिरीक्षक मनोज केसी उपस्थित नभएपछि आजको सुनुवाइ रोकिएको हो।
उनले म्याद बुझिनसकेकाले आजको बहस स्थगित भएको बताइएको छ। उनी पक्षका वकिलले भने आफूहरूले म्याद नै नपाएको बताएका थिए।
प्रहरी महानिरीक्षक केसी उपस्थित नभएको विषयमा न्यायाधीशहरूले महान्यायाधीवक्ता नारायणदत्त कँडेललाई सोधेका थिए।
इजलासले उनलाई अर्को सुनुवाइमा उपस्थित गराउन र पहिलो नम्बरमा सुनुवाइ हुने गरी पेसी राख्न भनेको छ।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
मन्त्रिपरिषदको कात्तिक १८ गते भएको प्रमाणित प्रतिलिपि र अन्य कुनै कागजात भए त्यसलाई समेत आजको सुनुवाइमा ल्याउन भनिएको थियो। त्यस्तै, सर्वोच्च अदालतले पनि सरकारका नाममा १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनेको छ।
यो मुद्दाको प्रकृति र संवेदनशीलतालाई विचार गरी अग्राधिकार समेत प्रदान गरेको थियो।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आइजिपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकारको नियुक्ति दिने निर्णय गरेको थियो।
त्यस्तै, मनोजकुमार केसीलाई आइजिपी बनाउने निर्णय समेत गरेको थियो। त्यस निर्णयविरूद्ध कार्कीले आफूलाई पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए।