भारतको दिल्लीस्थित साकेत अदालतले युट्युबर ध्रूव राठीविरूद्ध गैरजमानती वारेन्ट (जमानतमा नछुट्ने गरी पक्राउ पुर्जी) जारी गरेको छ।
सन् २०१८ मा प्रकाशित एउटा भिडिओलाई लिएर परेको मानहानि मुद्दामा अदालतले सोमबार आदेश दिएको भारतीय समाचार संस्था लाइभ लले जानकारी दिएको छ।
प्रथम श्रेणीका न्यायिक मजिस्ट्रेट अनम रईस खानले राठीविरूद्ध गैरजमानती वारेन्ट जारी गर्दै मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ३ का लागि तोकेकी छन्।
यो मुद्दा विकास सांकृत्यायन उर्फ विकास पाण्डेले दायर गरेका हुन्। उनले राठीले ‘बिजेपी आईटी सेल पार्ट–२’ शीर्षकको भिडिओ बनाएर आफूविरूद्ध झुटा आरोप लगाएको र त्यसले आफ्नो मानहानि भएको दाबी गरेका छन्।
यसअघि अक्टोबरमा प्रथम श्रेणीका न्यायिक मजिस्ट्रेट राहुल जैनले राठीविरूद्ध जमानती वारेन्ट जारी गरेका थिए। अदालतलाई राठीका नाममा उपस्थित हुने म्याद तामेल गर्न खोज्दा उनी बस्ने स्थान बन्द रहेको जानकारी गराइएको थियो।
त्यसअघि उजुरीकर्ता पाण्डेले मुद्दाको सुनुवाइ निर्धारित मितिभन्दा अगाडि सार्न अदालतमा निवेदन दिएका थिए। उनले राठी सामान्यतया विदेशमा बस्ने भए पनि कक्रोज जनता पार्टी ‘सीजेपी’को विरोध प्रदर्शनका लागि त्यसबेला भारतमै रहेको दाबी गरेका थिए।
राठी भारतमै रहेका बेला उनलाई झिकाउन सकिने भन्दै पाण्डेले नयाँ म्याद जारी गर्न माग गरेका थिए। राठी विदेशमा बस्ने भएकाले विगत केही वर्षदेखि म्याद बुझाउन नसकिएको उनको तर्क थियो।
उनले राठी हरियाणामा बस्ने गरेको ठेगाना आफूलाई थाहा भएको जानकारीसमेत अदालतलाई दिएका थिए।
पाण्डेको निवेदनपछि अदालतले सुनुवाइको मिति अगाडि सार्ने र राठीका नाममा नयाँ म्याद जारी गर्ने आदेश दिएको थियो। त्यसपछि म्याद तामेल हुन नसकेको जानकारी आएपछि अदालतले जमानती वारेन्ट जारी गरेको थियो।