नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुलिङ पिरियडमा षड्यन्त्र गर्ने सरकारको नेतृत्वमै रहेको पार्टी एमाले रहेको प्रष्ट भएको बताएका छन्।
शनिबार काठमाडौंको सितापाइलामा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कुलिङ पिरियडको अवधिका बारेमा भएका त्रुटी सच्याउन सबै सांसदहरूले राष्ट्रिय सभामा संशोधन हाल्ने भनेको तर एमालेले राख्न हुन्न भनेपछि त्यसमा कसले षड्यन्त्र गरेको रहेछ भन्ने प्रष्ट भएको बताएका हुन्।
पहिले दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा संशोधन हाल्ने भनेर सबैले भनेका हुन्। अहिले त्यो राख्न हुन्न भनेर बिरालोले अन्तिममा म्याऊ गरिछाड्यो भनेजस्तै एमालेले म्याऊ गरी नै हाल्यो,' उनले भने, ' उसको नै रहेछ यसका विरूद्ध षड्यन्त्र गर्ने नियत।'
त्यसकारण यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अध्यक्ष प्रचण्डले बताए।
'शंकाको सुई पहिले पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो। तर ठोस रूपमा भन्ने आधार थिएन। अहिले एमालेका सांसदहरूले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो। त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं,' उनले भने।