नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरीले पत्रकारहरूलाई गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन्।
पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी प्रवेश गरेर हस्तक्षेप गर्ने कार्यको विरोध गर्दै पौडेलले सरकारलाई आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सचेत गराएका छन्।
‘समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरू गिरफ्तार गर्ने दुष्कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो,’ उनले भने।
सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उनले बताएका छन्।
कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने कानुनी बाटाहरू खुला रहेको उल्लेख गर्दै पौडेलले संवैधानिक तथा कानुनी प्रक्रियालाई लत्याएर राज्यशक्तिको दुरुपयोग गर्दै पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत भएको बताएका छन्।
‘प्रश्न सोधेकै भरमा कलम चलाउने हातहरूमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउँछ,’ पौडेलले भनेका छन्।
उनले पक्राउ गरिएका पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न तथा कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
हिजोका दिनमा पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको स्मरण गराउँदै पौडेलले त्यही अराजक प्रवृत्ति आज राज्यसंयन्त्रबाटै दोहोरिनु झनै लज्जास्पद र अस्वीकार्य भएको बताएका छन्।
आफ्ना कमजोरी छोप्न सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल रोक्न सरकारलाई आग्रह गर्दै उनले प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।