प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूविरूद्ध अनेक अफवाह फैलिन सक्ने भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
यही भदौ २० गतेबाट ललितपुर गोदावरीस्थित सनराइज हलमा भएको दोस्रा विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा उनले कहिलेकाहीँ नेताहरूविरूद्ध गलत हल्ला चल्ने गरेको बताएका हुन्।
उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि लाग्ने गरेको पानी ट्यांकीमा पैसा लुकाएको आरोपलाई उदाहरणका रूपमा प्रस्तुत गरेको एक प्रतिनिधिले बताए।
'भन्न त अनेक भन्छन्। हाम्रो कमरेड (वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल) घरमा ट्यांकीभरि पैसा छ भनेर हल्ला गरे। हामीलाई गाह्रो भयो कि, मान्छेहरूलाई यी हाम्रो ट्यांकीमा पैसा छैन भन्नुपर्ने स्थिति छ,' ओलीले भनेका थिए।
अध्यक्ष ओलीले असार १४ गते आफूले फरक सन्दर्भमा दिएको अभिव्यक्ति पनि अर्कै अर्थमा बुझिएको बताएका थिए।
गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा बोल्दै अध्यक्ष ओलीले मदन भण्डारीमाथि पनि चार वटा बिहे गरेको र सहकारी ठगीको आरोप लाग्ने गरेको बताएका थिए। उनले मदन भण्डारीविरूद्ध अनेक दुर्वाच्य बोलिएको भन्दै उक्त आरोपबारे सुनाएका थिए।
'असार १४ गते मैले यस्ता आरोप, झुटा आरोप लाग्छ भन्न खोजेको थिएँ। तर अर्कै बुझियो,' उनले भनेका थिए।
अध्यक्ष ओलीले बिनात्याग, परिश्रम राजनीतिमा उदाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि आलोचना गरेका थिए।
'के हो रास्वपा? २००७ सालको क्रान्ति गर्यो? २०३६ सालको क्रान्तिमा थियो? २०४६ सालमा क्रान्ति गर्यो? २०६२/०६३ मा गर्यो? खाएको त्याग्नेबाहेक के त्यागेको छ?,' ओलीले रास्वपामाथि टिप्पणी गरेका थिए।
रास्वपाका सांसदले बलात्कारजस्तो जघन्य अपराधलाई सामान्यीकरण गर्ने गरेको प्रसंगसमेत राखेको एक प्रतिनिधिले बताए।
'एक थप्पड हानेको र बलात्कार गरेको एउटै हो भन्नेका पछाडि लाग्ने?,' अध्यक्ष ओलीले रास्वपा सांसद सोबिता गौतमलाई लक्ष्य गरेर टिप्पणी गरेका थिए।
राजनीतिक प्रतिवेदनमा जबाफ दिने क्रममा अध्यक्ष ओलीले अहिले वामपन्थी एकताको रटान अनावश्यक रहेको बताएका थिए। उनले यसको जरूरत नरहेको पनि बताए।
'शक्ति भए पनि विचार मिल्छ? तीन करोड मानिसलाई सचेत बनाऔं न। हाम्रो कुरा लिएर नागरिककहाँ जाऊँ न। किन गर्ने वाम एकता? जनतालाई साथी बनाऔं न। बिग्रिएको मन भएकाहरूकोमा नजाऔं। आफ्नै पार्टीमा सिनो भएकाहरूकहाँ नजाऔं,' अध्यक्ष ओलीले भनेका थिए।